गिरिबन्धुको कालो धब्बा र बेचन झाको पक्राउले बेचैन बनेकाले हामीलाई नैतिकता सिकाउने ?

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भ्रष्टाचारका फाइलहरु खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको सहमति भएको बताएका छन् । 

संसदमा आइतबार उनले सत्ता समीकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गरेको सहमति अपारदर्शी भएको पनि बताए । सापकोटाले काँग्रेस र एमालेका बीचमा भएको भनिएको सत्ता समीकरणको सहमति अपारदर्शी भएको बताए । 

Advertisement

दुई दलका बीचमा भएको सहमति आधिकारिक रुपमा बाहिर नआएको भन्दै उनले अपारदर्शी सम्झौता रहेको बताए । सापकोटाले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहे पनि सहमतिमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको बताए । यसरी स्थिरता दिन नसकिने उनले बताए । 

उनले कांग्रेस र एमालेले नैतिकता नदेखाएको पनि बताए । सापकोटाले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति हुनुले सरकार स्थिर हुन नसक्ने बताए । उनले भने, ‘हामीले अभ्यास गरिराखेको संसदको अभ्यासले के भन्छ भने सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वेटिङ गर्भमेन्ट अथवा वाचडगको रुपमा प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसकारण अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडी स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन । सबभन्दा पहिले त उहाँहरुले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ ।’ 

सापकोटाले थपे, ‘दुईवटा दलका बिचमा के–कस्ता सम्झौताहरु भए त्यो आधिकारिक रुपमा बाहिर आएका छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारका क्लिपहरु र अरु मेन्सनहरु गर्नुभएको छ । त्यसैलाई मात्र पत्याउनुपर्ने हो भने अलग कुरा हो । नभए उहाँहरुले मध्यरातमा, अमुकमा व्यक्तिको घरमा गर्नुभएको सम्झौताभित्र के छ ? हामीले हेर्न पाएका छैनौँ । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्नुपर्ने कुरा उहाँहरुलाई के भयले काम गरिरहेको छ ? सबभन्दा पहिला अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ ।’ 

एमाले अध्यक्ष केपी ओलीतर्फ औंल्याउँदै उनले दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गए पनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने र अर्कोतर्फ ललितपुरमा कांग्रेससँग सम्झौताका लागि ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउने काम गरेको भन्दै यो कहाँको नैतिकता हो ? भनी प्रश्न गरे । ‘यही हो नैतिकता ?’ सापकोटाले भने, ‘आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन् । त्यहीँ अपारदर्शीता छ । त्यो अनैतिकता हो । ठूलो दललाई त सरकारको नेतृत्व गर्ने सहमति गर्नुभएको छैन ।’

उनले दोस्रो पार्टीले नै नेतृत्व गर्ने हो भने कसरी राजनीतिक स्थिरता हुन्छ ? भन्दै प्रश्न गरे । सापकोटाले बाँकी रहेको कार्यकाल एउटै पार्टीले नेतृत्व गर्ने नभई फेरि आधा–आधा गर्ने कुराले स्थिरता नहुने भन्दै सिधा–सिधा लोकलाई ढाट्ने काम भएको बताए । 

सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताए । उनले एमालेप्रति लक्षित गर्दै गिरिबन्धु टि इस्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए । 

सापकोटाले भने, ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडि बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । बहादुरहरुले त सामना गर्छन् ।’

उनले थपे, ‘साहसीहरुले सामना गर्ने हो । तपाईंहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने । तपाईहरु पहिले गिरिबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’

प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने सापकोटाले स्पष्ट पारे । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने बताए । 

Advertisement

Advertisement