तीन सातामा वाणिज्य बैंकहरुमा थपियो एक खर्ब ३५ अर्ब निक्षेप, कर्जा प्रवाह १५ अर्ब ७४ करोड मात्रै

Advertisement

काठमाडौं । असारको तीन सातामा वाणिज्य बैंकहरुमा मात्रै एक खर्ब ३५ अर्ब ५४ करोड रुपियाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त असार २१ गतेसम्मको तथ्यांकअनुसार निक्षेपमा भारी वृद्धि भएको हो । 

हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । जेठमा उक्त बैंकहरुमा भएको निक्षेप ६० अर्ब १३ करोड रुपियाँ थप भएर ५५ खर्ब ३८ अर्ब पुगेको थियो । असार २१ गतेसम्म आउँदा त्यो ५६ खर्ब ७४ अर्ब रुपियाँ पुगेको तथ्यांकमा उल्लेख छ । 

Advertisement

आर्थिक बर्षको अन्तिम महिना भएका कारण सरकारले यो समयमा बढी खर्च गर्छ । सरकारले खर्च गर्ने पैसा प्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा आउँछ । त्यसमा पनि बाणिज्य बैंकहरुमा धेरै आउने गर्छ, त्यसले गर्दा असारमा उच्च मात्रामा बाणिज्य बैंकहरुको निक्षेप बढ्ने गर्छ । 

यद्यपि, असारको अन्तिम दिन वाणिज्य बैंकहरुको निक्षेप ह्वात्तै घट्ने गर्छ । सरकारलाई कर तिनुपर्ने दबाबका कारण असारको अन्तिम दिन बैंकिङ प्रणालीबाट ठूलो रकम सरकारी खातामा जान्छ, जसले निक्षेप घटाउँछ । यो नियमित चक्र हो ।

तथ्यांकअनुसार असार पहिलो साता अर्थात् १ गतेदेखि ७ गतेसम्म २१ अर्ब ७९ करोड रुपियाँ निक्षेप थपिएको थियो । दोस्रो साता अर्थात् असार ८ गतेदेखि १४ गतेसम्म ४६ अर्ब ६ करोड रुपियाँ निक्षेप थपिएकोमा असार तेस्रो साता ६७ अर्ब ६९ करोड रुपियाँ निक्षेप वाणिज्य बैंकहरुमा थपिएको छ । 

यो तीन सातामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने १५ अर्ब ७४ करोड रुपियाँ मात्रै रहेको छ । यो महिनाको पहिलो साता ५६ करोड रुपियाँ मात्रै कर्जा प्रवाह भएको छ भने दोस्रो साता १० अर्ब ३९ करोड रुपियाँ र तेस्रो साता चार अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह भएको छ । योसँगै हालसम्म बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ५८ अर्ब रुपियाँ पुगेको संघको भनाइ छ । गत जेठसम्म बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ४२ अर्ब रुपियाँ थियो । 

संघकाअनुसार जेठ २१ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.०१ प्रतिशत कायम भएको छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशत पुग्ने गरि कर्जा प्रवाह गर्न पाउँछन् । त्योअनुसार बाणिज्य बैंकहरुमा निक्षेपको १०.९९ प्रतिशत ऋण लगानीयोग्य रकम रहेको छ, जुन रकम ६ खर्ब २३ अर्ब ५७ करोड रुपियाँ हुन आउछ । 

undefined
 

Advertisement

Advertisement