वाणिज्य बैंकहरुमा निक्षेप थुप्रिने क्रम जारी, लगानीयोग्य पुँजी झण्डै रु. १८ अर्बले थपियो

Advertisement

काठमाडौं । चालु आवको भदौ महिना वाणिज्य बैंकहरुको निक्षेप झण्डै ७३ अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त उक्त महिनासम्मको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकअनुसार ७२ अर्ब ७१ करोड रुपियाँले निक्षेप बढेको हो । 

हाल नेपाली बजारमा २० बाणिज्य बैंक छन् । साउन मसान्तसम्म उक्त बैंकहरुमा ५७ अर्ब १५ करोड ८६ लाख रुपियाँ निक्षेप थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५७ खर्ब ८८ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । 

Advertisement

निक्षेप बढाउने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो नम्बरमा देखिएको छ । भदौमा उक्त बैंकमा भएको निक्षेप १७ अर्ब ७० करोड रुपियाँले बढेर चार खर्ब ३० अर्ब रुपियाँ पुगेको छ । 

दोस्रो नम्बरमा भने एनएमबि बैंक देखिएको छ । भदौमा एनएमबी बैंकमा भएको निक्षेप १४ अर्ब ४२ करोड रुपियाँले बढेको छ । हालसम्म उक्त बैंकमा भएको कुल निक्षेप भने दुई खर्ब ४३ अर्ब ४३ करोड रुपियाँ पुगेको छ । 

तेस्रो स्थानमा भने कुमारी बैंक रहेको छ । भदौमा कुमारी बैंकमा भएको निक्षेप १२ अर्ब ८२ करोड रुपियाँले बढेर तीन खर्ब ५६ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । 

यस्तै, हिमालयन बैंकमा भएको निक्षेप १० अर्ब ९१ करोड रुपियाँले बढेर तीन खर्ब १० अर्ब ४२ करोड रुपियाँ पुगेको छ भने प्राइम कमर्सियल बैंकमा भएको निक्षेप आठ अर्ब ७२ करोड रुपियाँले बढेर दुई खर्ब २१ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । 

लक्ष्मी सनराइज बैंकमा भएको निक्षेप पाँच अर्ब ६९ करोड रुपियाँले बढेर तीन अर्ब ३४ करोड ६७ लाख रुपियाँ पुगेको छ । ग्लोबल आईएमईमा भएको निक्षेप पाँच अर्ब १९ करोड रुपियाँले बढेर पाँच खर्ब १२ अर्ब ७० करोड रुपियाँ पुगेको तथ्यांकमा उल्लेख छ । 

यस्तै, एभरेष्ट बैंकमा तीन अर्ब ९६ करोडले बढेर दुई खर्ब ३८ अर्ब ८८ करोड, माछापुच्छ्रेमा तीन अर्ब ५३ करोडले बढेर एक खर्ब ६३ अर्ब १६ करोड, कृषि विकास बैंकमा दुई अर्ब २५ करोडले बढेर दुई खर्ब ५४ अर्ब ६६ करोड, सिटिजन्समा एक अर्ब ९७ करोडले बढेर एक खर्ब ९१ अर्ब चार करोड, नबिलमा एक अर्ब ५८ करोडले बढेर चार खर्ब ७५ अर्ब ६० करोड र राष्ट्रिय बािणज्यमा ७० करोडले बढेर चार खर्ब छ अर्ब ३४ करोड रुपियाँ निक्षेप कायम भएको छ । 

तर, सानिमामा चार करोडले घटेर एक खर्ब ९९ अर्ब ४१ करोड, स्ट्यान्डर्ड चार्टर्डमा ५० करोडले घटेर एक खर्ब १६ अर्ब १२ करोड, सिद्धार्थमा ९० करोडले घटेर दुई खर्ब ४२ अर्ब, नेपाल एसबिआईमा एक अर्ब ४० अर्बले घटेर एक खर्ब ७३ अर्ब ३३ करोड, प्रभुमा दुई अर्ब ७० करोडले घटेर तीन खर्ब चार अर्ब ३९ करोड, नेपाल बैंकमा चार अर्ब १७ करोडले घटेर दुई खर्ब ७४ अर्ब २० करोड र एनआईसी एसियामा सात अर्ब दुई करोडले घटेर तीन खर्ब ३९ अर्ब ५४ करोड रुपियाँको निक्षेप कायम भएको छ । 

यस्तै, भदौमा मात्रै बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५३ अर्ब रुपियाँले बढेको देखिएको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा भदौमा ५३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको हो । 

साउन मसान्तसम्म उनीहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपियाँ थियो । भदौं मसान्तसम्म आउँदा त्यो बढेर ४६ खर्ब २६ अर्ब रुपियाँ पुगेको छ । तथ्यांकअनुसार अझै पनि बाणिज्य बैंकहरुमा छ खर्ब ४० अर्ब रुपियाँ लगानीयोग्य रकम छ । 

भदौ मसान्तसम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ८९ अर्ब रुपियाँ छ । त्यसमा ४६ खर्ब २६ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बाणिज्य बैंकहरुले अझै निक्षेपको ११.०६ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउछन्, जुन रकम छ खर्ब ४० अर्ब रुपियाँ हुन आउँछ ।

Advertisement

Advertisement