रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे सीआईबीद्धारा अनुसन्धान सुरु

Advertisement

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्स लिमिटेडेको साधारण शेयर (आईपीओ) निष्काशन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान अघि बढाएको छ । 

किर्ते कागज बनाएको, अस्वाभाविक रुपमा बढी मूल्य निर्धारण गरेको र नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियोजित रुपमा आईपीओ स्वीकृत गरेको भन्दै जाहेरी परेपछि छानविन अघि बढाएको सीआईबीको भनाई छ । 

Advertisement

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जाहेरीको आधारमा छानविन अघि बढाएको जानकारी दिए । पुँजी बजारमा हुने अपराध सम्बन्धमा सीआईबीले पनि छानविन तथा अनुसन्धान गर्न सक्नेछ ।

सीआईबीले पहिलो चरणमा प्रारम्भिक अध्ययन गर्न धितोपत्र बोर्डलाई पत्रचार गरेको छ । बोगटीकाअनुसार बोर्डले एक महिनाभित्र यसबारे प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । 

त्यसपछि सीआईबीले यसबारे थप अनुसन्धान अघि बढाउने उनले बताए । स्रोतकाअनुसार बोर्डले सीआईबीको पत्र स्वीकृत गरेर अनुसन्धान अघि बढाइसकेको छ । 

धागो उत्पादन गर्ने यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको थियो । यो उद्योग नेपालकै ठूलो निर्यातमूलक उत्पादनमूलक कम्पनी हुनुका साथै चार हजारभन्दा बढीलाई एउटै उद्योगभित्र रोजगारी दिने सबैभन्दा ठूलो उद्योग पनि हो । 

प्रतिकित्ता ८२०.८० रुपियाँमा कम्पनीले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता शेयर निष्काशन गर्न प्रक्रिया अघि बढाएको थियो । यसका लागि नेपाल धितोपत्र बोर्डले गत असार १२ गते स्वीकृत दिएको थियो । त्यसपछि कम्पनीले पहिलो चरणमा असार २७ गते अर्थात् हिजोदेखि वैदेशिक रोजगारमा रहेका नेपालीलाई एक लाख १५ हजार कित्ता शेयर बिक्री गर्दै थियो । 

तर, यसबारे संसद्को लेखा समितिले स्पष्टीकरण सोधेपछि बोर्डले गत मंगलबार नै कम्पनीलाई आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न भनेको थियो । त्यसपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया यथावत राखेको छ । साथै, बोर्डले लेखा समितिलाई जवाफ दिने प्रक्रिया पनि अघि बढाएको छ । सो अवस्थामा सीआईबीले पनि यसको छानविन अघि बढाएको हो । योसँगै कम्पनीको आईपीओ निष्काशन थप अन्योलमा परेको छ ।

Advertisement