समावेशी मन्त्रिमण्डल ! आरजुसहित दुई जना महिला, दलित शुन्य

Advertisement

काठमाडौं । समावेशीताको चर्का भाषण गर्ने दलहरुले आफ्नो मन्त्रिमण्डल भने असमावेशी बनाएका छन् । प्रमुख दुई प्रतिस्पर्धीहरुले नै मिलेर बनाइएको मन्त्रिमण्डलमा दलित शुन्य छ भने महिला जम्मा दुई जना छन् । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रिमण्डलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुसहित दुई जना मात्रै महिला छन् । दुवै दलबाट मन्त्री बन्ने चर्चामा दलित साँसदको नाम आए पनि अन्तिम समयमा कोही पनि परेनन् । 

Advertisement

मन्त्रिमण्डल समावेशी बनाउन मधेसी समुदायबाट भने भरपुर समावेश गरेका ओलीले दलित र महिलालाई भने उपेक्षा गरेका छन् । उनले सोमबार २२ सदस्यीय नयाँ मन्त्रिमण्डल बनाएका हुन् । 

कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा आफ्ना मन्त्रीहरु पठाएको मन्त्रिमण्डलमा एमालेले विष्णु पौडेललाई अर्थ मन्त्रालय दिएको छ । मन्त्रिमण्डल समावेश बनाउने सम्वन्धित दलका नेताहरुले बताए पनि अन्तिममा सो कुरा कार्यान्वयन गर्न उनीहरु असफल भएका छन् । कुल २५ सदस्यीय मन्त्रिमण्डलमा अझै तीन जना मन्त्री नियुक्त गर्न बाँकी छ । 

कांग्रेसबाट जीवन परियार र एमालेबाट छविलाल विश्वकमाएको नाम आए पनि उनीहरुलाई समावेश गर्न नसक्नु अर्थपूर्ण देखिन्छ । उनीहरुको नाम अन्तिम समयमा सुचीबाट हटाइएको छ । सरकारमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट पनि दलित समुदायका सांसद मन्त्री भएनन् । यसअघि समावेशिताको चर्को भाषण गर्ने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दलित प्रतिनिधित्व शुन्य थियो । 

Advertisement