विवादास्पद अभिव्यक्तिपछि सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

Advertisement

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिपछि उनलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ । पूर्वप्रहरी संगठन प्रमुख मञ्च र नेपाली कांग्रेसका नेता शंकर भण्डारीले उनलाई बखास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । 

उनीहरुले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका छन् । मन्त्री गुरुङले गएको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । मन्त्री जस्तो पदमा रहेको आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै गुरुङको अहिले आलोचना भइरहेको छ । प्रहरी संगठनबाटै असन्तुष्टि बढेको छ । 

Advertisement

कांग्रेस नेता भण्डारीले विज्ञप्तिमा भनेको छन्, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु ।’

उनले शान्ति सुरक्षामा भविष्यमा तलमाथि हुन गएमा त्यसको जिम्मेवार स्वय० सरकार र प्रधानमन्त्री हुने समेत भण्डारीले उल्लेख गरेका छन् । समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि भण्डारीले अनुरोध गरेका छन् ।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले विज्ञप्तिमा लेखेको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’

साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।

Advertisement