जनता उकुसमुकुस भएका छन्, ओली प्रधानमन्त्री भएपछि विद्रोहको भावना बढेको छः पुन

Advertisement

नेपालगञ्ज । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा सोमबार उनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए । 

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा काँग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको आरोप लगाउँदै आफूहरुको सरकारले जनताको पक्षमा काम गरेकै कारण सरकारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको तर्क गरे । 

Advertisement

नेता पुनले आफ्नो पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए । उनले भने, ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ । हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं ।’ 

आफूहरु सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेको जिकिर गर्दै पुनले थपे, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौं ।’ 

नेता पुनले सरकारबाट बाहिरिएपछि पूराना संसदवादी पार्टीहरु एकातिर र आफूहरु अर्कोतिरजस्तो भएको बताए । उनले माओवादी पनि पूराना पार्टीहरुजस्तै भयो भन्ने गुनासाहरु थियो र खबरदारीहरु रहेको भन्दै उनले आफूहरुका अगाडि काँग्रेस–एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे । 

‘अब हामीलाई पुराना पार्टीहरुभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं ।’ 
एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे । 

फरक प्रसंगमा उनले अबको राजनीतिको मात्र नभई राष्ट्रिय जीवनका सबै क्षेत्र तथा सामाजिक–आर्थिक आन्दोलनको नेतृत्व युवाहरुको हातमा जाने बताए ।

Advertisement