सरकार गुणात्मकभन्दा पनि संख्यात्मक पर्यटक भित्राउन र कर अशुल्न मात्रै केन्द्रीत भयोः पाण्डे

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले सरकार गुुणात्मक पर्यटकभन्दा मात्रात्मक पर्यटकमा केन्द्रीत रहेको बताएका छन् । 

कर्पोरेटन नेपालसँगको कुराकानीमा उनले सरकार संख्यात्मकरुपमा धेरै पर्यटक भित्राउनुपर्छ भन्ने सोचमा रहँदा पर्यटन क्षेत्रको गुणात्मक विकास हुन नसकेको बताए । पाण्डे भन्छन्, ‘सरकार यति लाख पर्यटक भित्राउने भन्छ । कहिले घोषण गर्छ । कहिले योजना सार्वजनिक गर्छ । तर कति विदेशी पर्यटक नेपाल भित्रिए ? कति नेपाली मुलका आए ? छुट्टाउँदैन् । आएका पर्यटकहरु पनि कुन स्तरका आए ? त्यो पनि विचार गर्दैन ।’ 

Advertisement

हिमाली पर्यटनका क्षेत्रमा नेपालमा गुुणस्तरीय पर्यटक आउने गरेको उनले बताए । त्यस्तै, व्यवसायिक (विजनेश) पर्यटक र धार्मिक पर्यटकहरु पनि गुणात्मक भए पनि अरु पर्यटकहरुले भने खासै खर्च गर्न नसक्ने पाण्डेको भनाई छ ।  

उनले भने, ‘हिमाल आरोहण गर्न थोरै पैसाले पुग्दैन । बीमाको लागि पनि त्यहीअनुसार प्रिमियम बुझाउनुपर्यो । हिमाल आरोहण एक–दुई जना मात्र नभएर समूहमा हुन्छ । सरगरमाथा आरोहण गर्न कम्तिमा पनि एक जना आरोहीले १२ हजार डलर राजश्व तिर्नुपर्छ । नेपालमा विभिन्न परियोजनाका लागि आएका विजनेश पर्यटक र धार्मिक पर्यटकले पनि ठिकै खर्च गर्छन् । बाँकी अरु पर्यटकले खर्च खासै गर्दैनन् । संख्यामा मात्रै धेरै देखिने हो ।’ 

पर्वतारोहण संघको मुख्य काम दक्ष जनशक्ति उत्पादन गर्नु र हिमालको प्रवर्द्धन र संरक्षणका लागि भूमिका खेल्नु भएको पाण्डेले बताए । बढी खर्च गर्ने गुणत्मक पर्यटक भित्राउने हिमाली पर्यटनलाई सरकारले प्राथमिकता दिनुपर्ने उनले बताए । पाण्डेले हिमाली क्षेत्रमा आउने पर्यटकले ३५–४० हजार डलरसम्म खर्च गर्ने गरेको बताउँदै यस्ता पर्यटक जति धेरै भित्राउन सकियो, त्यति नेपालको पर्यटन क्षेत्र र देशको अर्थतन्त्र संवृद्ध हुने बताए । 

करोडौं रुपियाँ रोयल्टी (सलामी दस्तुर) संकलन हुने पर्वतारोहण क्षेत्रलाई सरकारले खासै महत्व नदिएको उनले बताए । पाण्डेले हिमालमा काम गर्ने दक्ष जनशक्तिको कमी हुँदै गएको बताए । ‘त्यही हिमालबाट सरकारले ठूलो रकम संकलन गर्छ । तर त्यस क्षेत्रमा काम गर्नेहरुको बारेमा सरकारले न चिन्ता छ, न वास्ता नै गर्छ’, उनले बताए । 

पाण्डेले पर्वतारोहण क्षेत्रलाई सरकारले बेवास्ता गर्दा यस क्षेत्रमा काम गर्नेहरुको संख्या कम हुँदै गएको बताए । उनले हिमाली क्षेत्रमा काम गर्नेहरु पलायन हुने क्रम बढ्दो रहेकाले यसलाई रोक्न जरुरी रहेको भन्दै रोक्न नसकिए जनशक्ति अभाव भएर विदेशीहरु खोज्नुपर्ने अवस्था आउने, जुन नेपालका लागि धेरै हिसावले बेफाइदा हुृने बताए । 

पाण्डेले हिमाल आरोहण र हिमाली क्षेत्रमा पदयात्राका लागि धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । यस कार्यमा निजी क्षेत्रले धेरै भूमिका र लगानी गरे पनि सो कुरालाई सरकारले मनन नगरेको गुनासो गरे । 

‘पहिलो कुरा मात्रात्मक पर्यटकमा लाग्ने कि गुणात्मक ? त्यो कुरामा सरकार चनाखो हुनुपर्यो । अर्को कुरा नेपाल आएका पर्यटकसँग १० हजार डलर लिएर २० हजारको होटलमा राखेर मिलेन । त्यस्ता पर्यटकलाई कुनै तारे होटल नै खोज्नुपर्यो । सेवा राम्रो दिएर पर्यटक ल्याउनु पर्यो’ उनले सुझाव दिए ‘टुरिजम भनेको जति पैसा लिए पनि विदेशी पर्यटकलाई खुःसी बनाएर उनकै गन्तव्यमा पठाउनु हो ।’ 

गुणस्तरीय पर्यटक भित्राउन सरकारले जनशक्ति पनि त्यहीअनुसार उत्पादन गरी उनीहरुलाई सोहीअनुसार सेवा सुविधा दिन सक्नुपर्ने पाण्डेले बताए । उनले स्तरीय पर्यटकहरु भित्राउन सरकारले पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्नु आवश्यक रहेको भन्दै तर अहिले सडक निर्माणको दयनीय अवस्थादेखि राजश्व उठाउने नाममा जथाभावी कर लगाउने कुराले गर्दा निराशा मात्रै बढाएको बताए । 

Advertisement

Advertisement