दुई ठूला दलको सरकार, निजी क्षेत्रमैत्री प्रधानमन्त्री बनेकाले निजी क्षेत्रमा उत्साह थपिएको छः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संसदका दुई ठूला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् । 

आफ्नो धारणा मिडियाहरुमा प्रस्तुत गर्दै उनले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठूला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरुमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताएका छन् । 

Advertisement

ढकालले भनेका छन्, ‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बावजुद राजनैतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसदका दुई ठूला दलहरु मिलेर सरकार निर्माण गरेका छन् । यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ ।’

नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहकार्यमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका छन् । उनले सोमबार नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । 

ढकालले तीन–तीन पटक मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास व्यक्त गरो छन् । 

ढकालले प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको उनको भनाई छ । 

ढकालले ‘सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्दा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ’ भन्दै प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिएको तर्क गरेका छन् । 

त्यस्तै, उनले अर्थ मन्त्रालयमा यस अघि नै उक्त मन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको बताउँदै भनेका छन्, ‘अर्थमन्त्रीको रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रको चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधै तयार नै छौँ ।’

Advertisement