घरजग्गा कारोबार १६ प्रतिशत बढ्यो, ४२ अर्ब ३२ लाख उठ्यो राजश्व

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा घरजग्गा कारोबार १६ प्रतिशतले बढेको छ । 

आर्थिक शिथिलता, तरलता अभाव, उच्च व्याजदर लगायतका कारण अघिल्लो आव २०७९–८० मा घरजग्गा कारोबारमा सुस्त थियो । तर, गत आवमा त्यो १६ प्रतिशतले बढेको भुमि व्यवस्थापन तथा अभिलेख बिभागको तथ्यांकले देखाएको हो ।
 
गत आव पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको छ । यो अघिल्लो आवको भन्दा ७३ हजार ९७३ वटा बढी हो । अघिल्लो आवमा चार लाख ६३ हजार ३२२ वटा यस्तो कारोबार भएको थियो । लिखित पारितको आधारमा यस्तो तथ्यांक गणना गरिएको हो । 
 
गत आवको जेठमा मात्रै ६१ हजार १६१ वटा घरजग्गा कारोबार भएको थियो । जुन दुई बर्ष यताकै उच्च थियो । यसअघि २०७९ चैतमा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो । त्यसपछि घरजग्गा कारोबारमा खस्किएको थियो । तर, पछिल्लो समय त्यो सामान्य रुपमा बढेको छ । तर, यस्तो कारोबार सामान्य अवस्थामा अझै नपुगेको व्यवसायीहरु बताउँछन् । 

Advertisement

तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७५ वटा घरजग्गा कारोबार भएको थियो । यसैगरी माघमा ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ वटा यस्तो कारोबार भएको देखिन्छ । यसैगरि चैतमा ५० हजार २५२, बैशाखमा ४९ हजार ७८२  र जेठमा ६१ हजार १६१ वटा यस्तो कारोबार भएको थियो । असारमा भने ४६ हजार १७९ वटा घरजग्गाको लिखित पारित भएको तथ्यांकमा उल्लेख छ । 

कति उठ्यो राजश्व ?
गत आवमा घरजग्गा कारोबारबाट उठ्ने राजश्व पनि सामान्य दरमा बढेको छ । बिभागको तथ्यांकअनुसार समिक्षा बर्षमा यस्तो कारोबारबाट उठ्ने राजश्व २.०७ प्रतिशतले बढेको छ । 

समीक्षा बर्षमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपियाँ राजश्व उठेको छ । अघिल्लो आवमा भने ४१ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजश्व उठेको थियो । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ । 

अहिले घरजग्गा कारोबार संख्या बढेपछि यस्तो राजश्व संकलन बढेको बताइन्छ । तर, घरजग्गा कारोबारको संख्या बढेपनि रकम भने बढेको छैन । त्यसले गर्दा राजश्व संकलन उच्च दरमा नबढेको बताइन्छ । 

बिभागको तथ्यांकअनुसार चालु आवको साउन महिनामा दुई अर्ब ९१ करोड रुपियाँ, भदौमा तीन अर्ब चार करोड रुपियाँ, असोजमा चार अर्ब आठ करोड रुपियाँ, कात्तिकमा दुई अर्ब १६ करोड रुपियाँ र मंसिरमा दुई अर्ब ८६ करोड रुपियाँ राजश्व उठेको थियो ।

यसैगरी पुसमा तीन अर्ब २० करोड रुपियाँ, माघमा तीन अर्ब ३७ करोड रुपियाँ, फागुनमा तीन अर्ब ५९ करोड रुपियाँ, चैतमा तीन अर्ब ९४ करोड रुपियाँ, बैशाखमा तीन अर्ब ८६ करोड र जेठमा चार अर्ब ३३ करोड रुपियाँ यस्तो राजश्व उठेको थियो । असारमा भने चार अर्ब ६१ करोड २६ लाख रुपियाँ राजश्व उठेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement