नागढुङ्गा सुरुमार्गको ८८.०२ प्रतिशत खण्डमा ‘कंक्रिट लाइनिङ’ सम्पन्न, बैशाखभित्र सञ्चालनमा ल्याइने

Advertisement

काठमाडौं । नागढुंगा टनेल परियोजना अन्तर्गतको मुख्य सुरुङमार्गको ८८.०२ प्रतिशत खण्डलाई ‘कंक्रिट लाइनिङ’ (सिलिङ ढलान) गरिसकेको देखिएको छ । 

परियोजना कार्यालयले हालै सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदनले यस्तो देखाएको हो । गत बैशाख ३ गते ब्रेक–थ्रु गरिएको उक्त सुरुङको लम्बाई दुई हजार ६८८ मिटर लामो छ । 

Advertisement

त्यसमा हालसम्म दुई हजार ३४८.५ मिटर खण्डमा कंक्रिट लाइनिङ गरिसकिएको प्रतिवदेनमा उल्लेख छ । कंक्रिट लाइनिङ र कालोपत्रे गरेपछि सुरुङमार्ग गाडी गुड्ने योग्य हुनेछ । यो परियोजना आगामी बैशाखसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । 

यो परियोजनाअन्तर्गत ‘रेस्क्यु’ र मुख्य गरेर दुई सुरुङमार्ग छ । त्यसमा दुई हजार ५५७ मिटर लामो रेस्क्यु टनेल भने साउन २२ गते ब्रेक–थ्रु गरिएको थियो । त्यसमा भने कालोपत्रे मात्रै गरिनेछ । 

दुवै टनेल ब्रेक–थ्रु भएपछि हाल सुरुङमार्गको फिनिसिङ, फ्लाईओभर लगायतका संरचना बनाउने काम भइरहेको छ । प्रतिवेदनअनुसार दुई सुरुङको ब्रेक–थ्रुसहित क्रस–प्यासेज, वर्किङ अडिटको काम पनि सकिएको छ । अब फिनिसिङको काम बाँकी रहेको आयोजना कार्यालयका अधिकारीहरु बताउँछन् । 

हालसम्म परियोजनाको समग्र भौतिक प्रगति ७७.६२ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७२.१९ प्रशित पुगेको प्रतिवेदनमा उल्लेख छ । 
नागढुंगा सुरुङमार्ग अन्तर्गत बन्ने १२ मध्ये ११ संरचना यसअघि नै तयार भइसकेको छ । त्यसमा तीनवटा अन्डरपास र चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना)को निर्माण सम्पन्न भएको छ । 

यसका अलावा आयोजनाअन्तर्गत हुने एउटा अन्डरपास, तीन वटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा बन्ने फ्लाइओभर पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । त्यसमा पाँच वटा सवस्टक्चर तयार भइसकेको छ । यो बाहेक सुपर स्टक्चर निर्माणको काम जारी रहेको बताइएको छ । 

सरकारले झण्डै २३ अर्ब लगानीमा बन्न लागेको परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । यसमा जापान सहयोग नियोग (जाइका)को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो । 

आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट सुरु भएको थियो । त्यसको साढे ३ बर्षमा आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू भएको थियो । अब बैशाखभित्र परियोजना सञ्चालनमा ल्याउने तयारी छ ।

Advertisement

Advertisement