मौद्रिक नीति ल्याउन ‘साउन १५’को डेटलाइन, सहजतापूर्वक लचिलो कार्यदिशा बनाइँदै

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ का लागि गत शुक्रबार मौद्रिक नीति ल्याउन नसकेपछि नेपाल राष्ट्र बैंकले आगामी साउन १५ गतेको डेटलाइन राखेर थप तयारी अघि बढाएको छ । 

मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार पनि साउन १५ भित्र मौद्रिक नीति ल्याउनुपर्ने दबाब राष्ट्र बैंकमाथि छ । सोहीअनुसार उक्त मितिको डेटलाइन राखेर मौद्रिक नीति ल्याउने तयारी गरिएको राष्ट्र बैंक उच्च स्रोतको भनाई छ । 

Advertisement

त्यसमा पनि आगामी शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी भइरहेको राष्ट्र बैंकका ती उच्च अधिकारीले बताए । मौद्रिक नीतिमार्फत गरिने नीतिगत व्यवस्थाले शेयर बजारलाई समेत प्रभावित बनाउनुका साथै घरजग्गादेखि गाडिहरुको किनबेचसम्म घटबड गर्ने बिगतका घटनाक्रमले देखाउने गरेको छ । 

बिशेषगरि मौद्रिक नीतिमा गरिने व्याजदर, शेयर कर्जाको सीमा लगायतका व्यवस्थाले शेयर बजारलाई प्रभावित बनाइरहेको हुन्छ । सोही गाम्भीर्यतालाई मनन् गर्दै राष्ट्र बैंकले सामान्यत शेयर कारोबार हुने दिनहरु (आइतबारदेखि बिहीबारसम्म)मा ठूलो नीतिगत परिवर्तन गर्दैन । त्यस्तो नहोस् भन्नेका लागि प्रायः शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने र यसको समीक्षा गर्नेगरिन्छ । यसो गर्दा स्वार्थ समूह तथा व्यक्तिले शेयर बजारलाई प्रभावित गराउन सक्दैनन् भन्ने विश्वास छ । 

गएको शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको बेला अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले नै सिधा हस्ताक्षेप गरेर रोक्न लगाएपछि अबको शुक्रबार नीति ल्याउनैपर्ने दबाबमा राष्ट्र बैंक रहेको छ । मौद्रिक नीति ढिलो गर्दा आर्थिक नीतिको प्रभावकारी कार्यान्वयनमा समस्या हुने भन्दै राष्ट्र बैंक स्रोतले साउन १५ गतेसम्म पुग्दा प्राविधिक समस्याहरु आउनसक्ने बताएको छ । 

सरकारले चालु आवका लागि गत जेठ १५ गते नै बजेट ल्याइसकेको छ । बजेटले चालु आवमा ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । साथै, महंगी दरलाई ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ । 

मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकको नियमित प्रक्रिया नै हो । तर, बजेटले ल्याएका त्यस्ता लक्ष्यहरुलाई सहयोग पुग्ने गरि पनि मौद्रिक नीति ल्याउनुपर्ने अभ्यास छ । मौद्रिक नीतिमार्फत लिइने कर्जा प्रवाह नीति, व्याजदर, कर्जा प्रवाहका लागि तोकिने प्राथमिक क्षेत्र लगायतका नीतिले अर्थतन्त्रलाई प्रभावित बनाएको हुन्छ । अर्थतन्त्रको सवालमा बजेटपछि मौद्रिक नीति महत्वपूर्ण मानिन्छ । 

यस्तै, राष्ट्र बैंकले चालु आवका लागि पनि सहजतापूर्वक लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको देखिएको छ । गत आवका लागि पनि राष्ट्र बैंकले सहजतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको थियो । चालु आवका लागि पनि सोही कार्यदिशामा मौद्रिक नीति ल्याइने राष्ट्र बैंक स्रोतले बतायो ।

गत आवको जेठ मसान्तसम्म रेमिट्यान्स १९.८ प्रतिशतले बढेर २० खर्ब रुपियाँ नजिक पुगेको छ । देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर अर्थात् शोधनान्तर स्थिति पनि चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा छ । विदेशी मुद्रा सञ्चिती पनि १९ खर्ब ६७ अर्ब १९ करोड रुपियाँ पुगेको छ । राष्ट्र बैंकले नै प्रकाशन गरेको यी तथ्यांकले बाह्य क्षेत्र निकै सहज अवस्थामा पुगेको देखाएको छ । मूल्यबृद्धि दर पनि ४.१७ प्रतिशतमा सिमित भएको छ । 

तर, आन्तरिक अर्थतन्त्र भने अझै चलायमान हुन सकेको छैन । गत आवमा आर्थिक बृद्धिदर ३.९ प्रतिशत मात्रै हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । आयात निर्यातमा पनि संकुचन आएको छ । सर्वसाधारणको क्रय शक्ति बढ्न नसक्दा बजारमा माग बढ्न सकेको छैन । त्यसले अर्थतन्त्र प्रभावित बनाइरहेको छ । यो अवस्थामा मौद्रिक नीतिलाई अझै पूर्णरुपमा लचिलो बनाउन नसकिने ती अधिकारीले बताए ।
 
उनले भने, ‘अहिलेको तथ्यांकले नै सहजता पुर्वक लचिलो नीति मागेको छ । बाह्य क्षेत्र बलियो छ भने आन्तरीक अर्थतन्त्र शिथिल नै छ ।  यो अवस्थामा पुर्ण रुपमा लचिलो मौद्रिक नीति ल्याउन सकिन्न । सहजता पुर्वक लचिलो मौद्रिक नीति नै ल्याउने गरि काम गरिरहेका छौं ।’

डा. खतिवडाको इन्ट्रीले धकेलियो मिति 
यसअघि राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागका कर्मचारीका अनुसार मौद्रिक नीतिका ९८ प्रतिशत काम पूरा भइसकेको थियो । शुक्रबार बिहान ८ बजे मौद्रिक नीतिको एजेन्डासहित बोर्ड (सञ्चालक समिति) बैठक समेत बोलाइएको थियो । बैठकबाट मौद्रिक नीति पारित गरेर दिउँसो कुनै समय सार्वजनिक गर्ने पक्कापक्की भइसकेको थियो । 

तर, बिहीबार साँझ एकाएक शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्ने निर्णय गरियो । गभर्नर महाप्रसाद अधिकारीले मस्यौदा अध्ययन गरिनसककेको बताउँदै बोर्डका सदस्यहरुलाई एक–दुई दिनमै अर्को बैठक आह्वान गर्ने जानकारी गराएका थिए । तर, हालसम्म अर्को बोर्ड बैठक आह्वान भने गरिएको छैन ।

बिहीबार नै प्रधानमन्त्री केपी ओलीले आफ्नो आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेका थिए । उनी यसअघि गभर्नर र अर्थमन्त्री भइसकेको व्यक्ति हुन् ।  समग्र अर्थतन्त्रबारे विज्ञ मानिने खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार मात्रै नभएर विश्वस पात्र पनि हुन । 

मौद्रिक नीतिमाथि बढी नै चासो राख्ने खतिवडाले आफूसँग छलफल गरेर मात्रै मौद्रिक नीति ल्याउन भनेपछि गभर्नर अधिकारी रोक्किएका हुन् । गत शुक्रबार नै जारी गर्ने भनिएको मौद्रिक नीति अबको संभवत शुक्रबार जारी हुने नीतिमा केही महत्वपूर्ण कुराहरु हेरफेर हुने सहजै अनुमान गर्न सकिन्छ । 

Advertisement

Advertisement