काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ६६ खर्ब ९५ अर्ब १५ करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन र भदौमा ८१८ पटक गरि सो बरारबको निक्षेप सुविधा लिएका हुन् ।
बैंकहरुले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा अन्तर्गत राष्ट्र बैंकमा सो बराबरको निक्षेप राखेका हुन् । त्यसमा ६४ खर्ब ५८ अर्ब २० करोड रुपियाँ निक्षेप बैंकहरुले फिर्ता लगिसकेका छन् । अब दुई खर्ब ३६ अर्ब ९५ करोड रुपियाँ मात्रै फिर्ता हुन बाँकी छ । निक्षेप अवधी सकिएपछि (परिपक्व भएपछि) त्यो पनि बैंकहरुले व्याजसहित त्यो फिर्ता पाउने छन् ।
गत आवभरमा बैंकहरुले ४७ खर्ब ७३ अर्ब ६० करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका थिए । तर, चालु आवको दुई महिनामै त्यो भन्दा धेरै रकममा यस्तो सुविधा लिएको तथ्यांकले पुष्टी गरेको छ ।
आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून भएपछि अहिले बैंकहरुमा खर्बौं रुपियाँ लगानीयोग्य पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुले राष्ट्र बैंकको निक्षेप सुविधा अन्तर्गत रहेर आफ्नो अधिक तरलता व्यवस्थापन गर्दै आएको देखिन्छ ।
समीक्षा अवधीमा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत मात्रै राष्ट्र बैंकमा ६२ खर्ब ७० अर्ब ४० करोड रुपियाँ निक्षेप राखेका छन् । ८०६ पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन् । यस अन्तरगत सबै पैसा फिर्ता भइसकेको छ ।
राष्ट्र बैंकले गत फागुन १ गतेदेखि पहिलो पटक एडीएफ कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले तोकिदिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । यसमा राष्ट्र बैंकले तीन प्रतिशत व्याज पनि दिनुपर्छ ।
पछिल्लो समय कर्जाको माग न्यून हुँदा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न धौधौ भएको थियो । आर्थिक शिथिलताका कारण कर्जा माग नहुँदा बैंकहरुमा पैसा थुप्रिएकै छ । त्यो अवस्थामा बैंकहरुलाई एसडीएफमार्फत पुँजी परिचालन गर्न सहज भएको बताइन्छ । यसले सामान्य रुपमा भए पनि राहत मिलेको बैंकरहरु बताउँछन् ।
बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउनेछन् । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई भुक्तानी गरिने छ ।
यस्तै, समीक्षा अवधीमा बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा चार खर्ब २४ अर्ब ७५ करोड रुपियाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकले यस अन्तरगत १२ पटक गरेर ६ खर्ब ८० अर्ब रुपियाँ निक्षेप राख्न प्रस्ताव गरेको थियो । त्यसमा बैंकहरुले चार खर्ब २४ अर्ब ७५ करोड रुपियाँ बराबरको निक्षेप राखेका छन् । त्यसअन्तर्गत अब दुई खर्ब ३६ अर्ब ९५ करोड रुपियाँ निक्षेप फिर्ता हुन बाँकी छ । सम्झौतामा उल्लेखीत तालिका अनुसार त्यो रकम बैंकहरुले व्याजसहित फिर्ता पाउने छन् । यसमा बैंकहरुले बोलकबोल प्रणालीबाट निक्षेप राखेका हुन् ।