प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै बर्षमान पुनको नियमापत्ति

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । 

सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । 

Advertisement

सत्तारुढ काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए । उनले आर्थिक वर्ष २०८१–८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने सरकारको योजना रहेको छ ? भन्ने प्रश्न गरे । 

यस्तै, आर्थिक अवस्था सुधारका लागि गैरकानूनी आर्थिक कारोबार नियन्त्रण गर्ने सरकारको योजना के छ भन्ने गुरुङको दोश्रो प्रश्न थियो । 

तर प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदहरुले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिएको भन्दै पुनले नियमापत्ति गरेका थिए । 

त्यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ट्रंकलाइनको महशुल विवादबारेको प्रश्न गरेका थिए । ओलीले दाहालको नाम उल्लेख नगरी उनले उठाएको प्रश्नमा प्रवेश गरेपछि पुनले आपत्ति जनाएका हुन् । ओलीले संसदमा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभावी नबोल्न चेतावनी दिएका थिए । 

उनले आफूमाथि सुनको जलहरीमा ठाउँमा पित्तल लगाएको भन्ने आरोप लगाउने, अनेकखालका फोटाहरु बनाएर पछाएको जस्ता टिप्पणी गर्दै आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्दादित, हल्का र हावादारी प्रश्न नगर्न चेतावनी दिएका थिए । 
 
ओली गुरुङको प्रश्नभन्दा बाहिर गएको भन्दै पुनले उठेर नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्रीलाई रोकेका थिए । पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए । 

उनले रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले पनि प्रश्नमा केन्द्रीत हुन ओलीलाई निर्देशन दिएका थिए । पुनले ‘उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ?’ भन्दै प्रश्न गरेपछि घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए । 

Advertisement

Advertisement