काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत भएका १९ मध्ये १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको बृद्धि) लागेको छ । आइतबारको शेयर कारोबारमा १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यसमा १० वाणिज्य बैंकको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आईएमई, सिटिजन्स, प्राइम, कृषि विकास र नेपाल बैंकको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।
यस्तै, छ वटा बैंकको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । एभरेष्ट, लक्ष्मी सनराइज, कुमारी, एनआईसी एसिया, नविल र हिमालयन बैंकको शेयर मूल्य उक्त दरमा बढेको हो । यसैगरी माछापुच्छ्रे र सिद्धार्थ बैंकको शेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेको छ छ ।
यद्यपि ,स्टाण्डर्ड चार्टर्डको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्न सकेन । तर, उक्त बैंकको शेयर मूल्यको बृद्धिदर पनि उच्च नै देखिन्छ । आइतबार उक्त बैंकका शेयर मूल्य ८.३ प्रतिशतले बढेको छ । हाल नेपालमा २० बाणिज्य बैंक छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रि बाणिज्य बैंक भने नेप्सेमा सुचीकृत छैन ।
लामो समयसम्म बाणिज्य बैंकहरुको शेयर मूल्य घट्दै गएको थियो । यसमा लगानीकर्ताको आर्कषण पनि न्यून थियो । तर, आइतबार बाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च बृद्धि देखिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिको प्रभावले यस्तो अवस्था आएको हो । मौद्रिक नीतिमार्फत असल कर्जामा राख्नुपर्ने प्रोभिजनिङ दर १.२० प्रतिशतबाट १.१० प्रतिशतमा सीमित गरिएको छ । यसले बैंकहरुको नाफा बढाउने छ । यस्तै, कर्जाको माग बढाउने लगायतका बिषयमा केन्द्रीत भएर नीति मौद्रिक नीति आएको छ ।
आइतबार नेप्सेको बैंकिङ सव–इन्डेक्स पनि ९.८९ प्रतिशतले बढेको छ । आज यसको सव–इन्डेक्स १४१.७६ अंकले बढेर १५७४.३४ विन्दुमा पुगेको छ । आइतबार अन्य सव–इन्डेक्सको तुलनामा बैंकिङकै बृद्धिदर उच्च छ ।
साथै, मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने अपेक्षा पनि गरिएको छ । त्यसले गर्दा आइतबार समग्र शेयर बजार नै उच्च दरमा बढेको छ । आइतबार शेयर कारोबारमा दुई पटक सर्किट ब्रेक नै लागेको थियो । अन्तिम समयसम्म आउँदा नेप्से ४.४१ प्रतिशत अर्थात् ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आइतबार १५ अर्ब ८१ करोड रुपियाँको शेयर कारोबार भएको छ ।