तीन राज्यमन्त्रीले लिए सपथ, परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।  

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् । 

Advertisement

शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्को सङ्ख्या २५ पुगेको छ ।

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मूख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए ।  

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरु प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको संगत र उनीहरुको प्रलोभनमा नपर्न पनि सचेत गराए । 

उनले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रुपमा रही बढी जानकारी लिएर मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गरे । 

यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्याउन निर्देशन दिए । 

Advertisement

Advertisement