संसद अवरोध रोकिन्न, जबरजस्त आक्रमण गछौंः दाहाल

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको बताए । 

Advertisement

सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिँदै दाहालले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए । 

उनले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताए । दाहालले भने, ‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन ।’

उनले थपे, ‘सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ । र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन । हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिन पर्यो ।’

दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताए । नेता दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताए । 

अहिले खुशी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५–१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताउँदै उनले उक्त निर्णय हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे । 

दाहालले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र विदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए । उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सिमित हुने बताए । दाहालले आफू प्रधानमन्त्रीमा रहँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरे । 

Advertisement

Advertisement