काठमाडौँ । बिगत २३ वर्ष लामो खडेरीपछि बंगबन्धु कपको उपाधि बोकेर फर्किएका खेलाडीहरुले उच्च मनोबल एवं सामूहिक भावनाका साथ खेलेका कारण उपाधि जित्न सम्भव भएको बताएका छन् ।
उपाधि जितेको खुशियालीमा नगर परिक्रमासहित दशरथ रंगशाला पुर्याइएका खेलाडीहरुले २३ वर्ष पछि अनर्राष्ट्रिय फुटबल प्रतियोगीतामा प्राप्त उपलब्धिसँगै फुटबलमा अब नयाँ अध्याय सुरु भएको बताए।
एक महिना पहिले मात्र चार खेलाडीमाथि म्याच फिक्सिङको अभियोगमा आजिवन तथा दुई दशकसम्म अखिल नेपाल फुटबल संघको नेतृत्व गरेका गणेश थापामाथि भ्रष्टाचारको अभियोगमा १० वर्ष प्रतिबन्ध लगाइएको थियो।
बंगलादेशबाट उपाधि बोकेर फर्किएका खेलाडीहरुले फुटबलमा पछिल्लो समय लागेको कालो धब्बालाई विर्सेर आफूहरुले अनुशासनपूर्वक खेलेको र खेलको सुखद् नतिजाले आफूहरु निकै खुसी बनेको बताए ।
गोलकिपर विकेश र स्ट्राइकर बिमल दुवैले उपाधि हासिल हुनुमा टिमका सबै खेलाडी तथा प्रशिक्षकको योगदान रहेको बताए । मुख्य प्रशिक्षक बालबागोपाल महर्जनले सहि खेलाडीलाई सहि स्थानबाट खेलाएका कारण उपाधि सम्भव भएको बताए।
उनले विगतका कमजोरीहरुबाट पाठ सिकी विपक्षीबाट गोल नखाने र जतिसक्दो गोल गर्ने रणनीतिका साथ मैदानमा उत्रिएको भन्दै नेपाल आफ्नो रणनीतिमा पूरै सफल भएको बताए । उनले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएकामा एन्फालाई धन्यवाद समेत दिए।
एन्फाको कार्यशैली मन नपरेको भन्दै मुख्य प्रशिक्षक प्याट्रिक असेम्स विदेशबाट नफर्किएपछि एन्फाले महर्जनलाई मुख्य प्रशिक्षक बनाएर बंगलादेश पठाएको थियो। महर्जनको प्रशिक्षणमा नेपालले केही महिना पहिले मात्र १९ वर्ष मुनीको साफ च्याम्पियनसीप जितेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालामा एक समारोह गरी खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशव विष्टले राष्ट्रिय फुटबल टिमका सबै सदस्यलाई जनही दुई लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गर्ने बताए।
एन्फाले शुक्रबार नै टोलीका सबै सदस्यलाई जनही ५/५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। एन्फाका पदाधिकारीहरुले केही दिनभित्रै औपचारिक कार्यक्रम गरेर खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने जनाएका छन्।