चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्रे

Advertisement

फिक्कल, इलाम । चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्रे भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्रे गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । 

चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्रे सडक पुर्याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो । सबै वडामा कालोपत्रे सडक पुर्याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताए । 

Advertisement

चुलाचुली गाउँपालिकाले छवटै वडा जोड्ने सडक कालोपत्रे गर्ने योजना कार्यान्वयन गरेको हो । चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्रे भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्रे गरिएको हो । 

गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्रे गरिएको छ । दुई किलोमिटर एक सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्रे गरिएको हो । तीन किलोमिटर दुई सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले जानकारी दिए । 

वडा नं १ स्थित चुलाचुली मार्गको आठ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोडको लगानीमा कालोपत्रे सम्पन्न गरिएको छ । सोही सडकको अर्को सात सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३८ हजारको लगानीमा कालोपत्रे गरिएको छ ।

त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा रु ९९ लाख ९५ हजार सात सय ८२ लगानीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले बताए । सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्रे गरिएको थियो ।
 
वडा नं ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर दुई सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३६ हजार दुई सय ३६ को लगानीमा कालोपत्रे गरिएको छ । सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९/८० मा कालोपत्रे गरिएको थियो ।

त्यसैगरी वडा नं ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर तीन सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्रे अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहाले जानकारी दिए । 

इन्जिनयर दाहालका अनुसार कालोपत्रेका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रेे गरिएको थियो । वडा नं ३ मा आव २०७९/८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९/८० सम्ममा तीन किलोमिटर चार सय मिटर सडक कालोपत्रे गरिएको थियो ।

पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्रे गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्रे गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएका  छन् भने कतिपय सडक गाउँपालिकाले आफैं बजेट विनियोजन गरेर पिच गरिएको छ,’ अध्यक्ष केरुङले भने, ‘आगामी दिनमा पनि सडक कालोपत्रे गर्नेछौँ ।’

Advertisement

Advertisement