काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न नेतृत्वका लागि अध्यक्षमा जस्तै महासचिवमा पनि तीब्र प्रतिस्पर्धा देखिएको छ ।
नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डे र अर्का अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्र सापकोटाको समूह प्रतिस्पर्धामा छ । पाण्डे समूहबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पा छन् भने सापकोटाको समूहबाट राजेन्द्र सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।
यही आउँदो भदौ १७ मा हुने वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जस्तै महासचिवमा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डे समूहबाट महासचिवका उम्मेदवार शेर्पाले २२ बुँदे घोषणपत्र सार्वजनिक गरेका छन् भने सापकोटा समूहका सुवेदीले २० बुँदे घोषणपत्र सार्वजनिक गरेका छन् ।
शेर्पाले नेपालको पर्यटन प्रवर्द्धन गरी स्वच्छ किसिमले अगाडी बढ्न आफ्नो प्यानल लागेको बताए । उनले भने, ‘हामी टानमा निष्पक्ष व्यक्तिलाई नेतृत्वमा अघि सारेर राजनीतिबाट अछुतो राख्न खोजेका छौँ । म पनि राजनीतिबाट टाढा छु । छाता संगठनमा जाँदा हामीले त्यो राजनीतिक हिसाबले लाग्नु हुँदैन् । टानको निर्वाचनमा हामी सक्षम छौँ । हामीले ५०० भन्दा बढी व्यवसायीले स्वतन्त्र ढंगले हामीलाई साथ दिन्छन् भन्ने विश्वास लिएका छौं ।’
कोरोना महामारीपछिको पर्यटनलाई परेको असरबाट ट्रेकिङ क्षेत्रलाई माथि उठाउन पाण्डेको समूहबाट महासचिवमा उम्मेदवारी दिएको भन्दै शेर्पाले हिमाली क्षेत्रमा दैनिक मजदुरी गर्ने मजदुरहरुको सुरक्षाका लागि मजदुर कोषको स्थापना लक्ष्य रहेको बताए ।
महासचिवका अर्का प्रत्यासी सुवेदीले आफ्नो समूहको जित निश्चित रहेको बताए । उनले ट्रेकिङ पेशा एउटा मर्यादित पेशाको रुपमा चिनिएको बताउँदै भने ‘व्यवसायीहरुको समावेशी टिमले राम्रो काम गरिरहेका छ । अझै धेरै काम गर्न हाम्रो समूहको आवश्यकता छ । अव्यवहारिक नियमहरू परिमार्जन गरेर जान पनि हाम्रो समूहको जित आवश्यक छ ।’ आफूहरुसँग विभिन्न क्षेत्रमा काम गरेका अनुभवीहरुको समूह रहेको सुवेदीले दावी गरे ।
टिम्समा देखिएको समस्या र यावत अन्य समस्याहरूको समाधानको लागि सापकोटा समूहको एजेण्डाले काम गर्ने बताउँदै उनले भने, ‘हाम्रो भविष्यको पुस्ताले पनि यो पेशामा आएर काम गर्नसक्ने वातावरण सिर्जना गर्नको हाम्रो समूहले मलाई महासचिवको पदमा उम्मेद्वार बन्न छनौट गरेको हो ।’
टानको नयाँ कार्यसमिति निर्वाचनका लागि सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ), द्वितीय उपाध्यक्षमा निशेष थापा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश न्यौपाने, संयुक्त कोषाध्यक्षमा डम्बर अधिकारी, कार्यसमिति सदस्यमा सृष्टि भण्डारी, अम्बर गुरुङ, माधव धमला, बिनोद तामाङ, मिरे कार्की, होमबहादुर विश्वकर्मा, शिव सिलवाल, उत्सव ढकाल, फुरपु चिरिङ ल्होमीले उम्मेदवारी घोषणा गरेका छन् ।