काठमाडौं । शेयर बजार दुई दिनमा करीब २ सय अंकले तल झरेको छ । गत आइतबार ७९.८८ अंकले ओरालो झरेको बजार आज मंगलबार पनि १११.९६ अंकले तल झरेको हो ।
गत साताको अन्तिम दिन बजार बढेर बन्द हुँदा नेप्से २९७४.४६ अंकमा उक्लिएको थियो भने आज झरेर २७८२.६० अंकमा ओर्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १११.९६ अंकले घटेको हो । २.८६ प्रतिशतले बजार घट्दा नेप्से २७८२.६० अंकमा झरेको हो ।
समग्रमा बजार घटे पनि होटल समूह ०.४३ अंकले बढ्दो भने बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी बैंकिङ समूह ४.९३ प्रतशितले घटेको छ ।
आज ३३० कम्पनीका ४ करोड ३८ लाख ६९ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७०.३५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । थ्री स्टार हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंक क्रमशः ९.८१ र ९.४५ प्रतिशतले बढेका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ बराबरको कारोबार भएको थियो भने हिजो सोमबार श्रीकृष्णजन्माष्टमीको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।