नेपालमा पनि ‘बीमा एग्रिगेटर’ कम्पनीको लाइसेन्स दिँदै बीमा प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ‘एग्रिगेटर’ कम्पनीहरुलाई पनि सञ्चालनको लाइसेन्स (अनुमतिपत्र) दिने तयारी गरेको छ । हाल अर्थ मन्त्रालयमा विचाराधिन बीमा नियमावलीको मस्यौदामा ‘बीमा एग्रिगेटर’ लाई सञ्चालनको अनुमति दिने प्रस्ताव गरिएको छ । 

त्यो प्रस्तावसहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ बीमा एग्रिगेटर कम्पनीलाई लाइसेन्स दिने प्राधिकरणले जनाएको छ । यस्तो कम्पनीले बीमा अभिकर्ताको जस्तै काम गर्ने छन । तर, बीमा एग्रिगेटरले कुनै बीमा कम्पनी अन्तर्गत नभएर छुट्टै स्वतन्त्र कम्पनीको रुपमा काम गर्नेछ । अभिकर्ताहरुले कुनै निश्चित कम्पनीअन्तर्गत रहेर सोही कम्पनीको मात्रै पोलिसी बिक्री गर्न पाउने गरि लाइसेन्स पाएका हुन्छन् । 

Advertisement

तर, बीमा एग्रिगेटरले भने त्यसरी काम गर्नुपर्ने छैन् । स्वतन्त्ररुपमा अभिकर्ताको काम गर्न पाउने छ । यस्ता कम्पनीले सबै कम्पनीको पोलिसि बिक्री गर्नेछन् । बीमा कम्पनीहरुको उपलब्ध गराउने प्रडक्ट (बीमालेख)को बिशेषता र बीमाशुल्कको बिश्लेषण गरि उपयुक्त पोलिसि ग्राहकलाई खरीद गर्न सुझाव दिनेछन् । 

बीमा नियमावलीमा यस्ता कम्पनीलाई मध्यस्थकर्ता भनेर पारिभाषित गरिएको छ । ‘बीमा एग्रिगेटर भन्नाले बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले बीमा मध्यस्थकर्ताको रुपमा कार्य गर्न इजाजतप्राप्त सङ्गठित संस्था सम्झनु पछ,’ नियमावलीको मस्यौदामा प्रस्ताव गरिएको छ  । 

यस्ता कम्पनीले निवेदन दिएमा प्राधिकरणले आवश्यक प्रक्रिया पूरा गरेर लाइसेन्स दिन सक्नेछ । नियमावलीमा भनिएको छ, ‘बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त शर्त तथा बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले कुनै संस्थाले निवेदन दिएमा प्राधिकरणले बीमा एग्रिगेटरको इजाजत प्रदान गर्न सक्नेछ ।’

पहिला बीमा अभिकर्ताले धेरै कम्पनीको पोलिसि बिक्री गर्ने गरे पनि अहिले भने समान प्रकृतिका एउटा मात्रै कम्पनीको पोलिसि बिक्री गर्न पाउने नियम प्राधिकरणले ल्याएको छ । यो नियमअनुसार एक जना व्यक्तिले एक जीवन र एक निर्जीवन बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउँछ । 

बीमा एग्रिगेटरको नियम अन्य मुलुकमा भए पनि नेपालमा नभएकाले सो व्यवस्था गर्न लागिएको हो । भारत लगायतका मुलुकमा यस्ता कम्पनी पहिलादेखि नै सञ्चालनमा छन् । भारतमा चर्चित रहेको ‘पोलिसि बजार डटकम’ पनि बीमा एग्रिगेटर नै हो । नेपालमा त्यस्तै प्रकृतिको एग्रिगेटर कम्पनी आएमा ग्राहकले एकै ठाउँ वा एक जनालाई भेटेर सबै कम्पनीको पोलिसि छनोट गरेर खरीद गर्न सक्नेछन् । यसले बीमितलाई छनोटको अवसर प्रदान गर्ने प्राधिकरणका अधिकारीहरुको भनाई छ । 

Advertisement

Advertisement