आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रोे लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट २०८१ भदौ ७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ । 

Advertisement

साथै, कम्पनीले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ । 

यस कम्पनीको जारी पूँजी रु. ७५,००,००,०००/– (अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र) कोे ३० प्रतिशत अर्थात रु. २२,५०,००,०००/– (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) रकम बराबरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर रु. १००/– अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ । 

कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पुस १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत प्रदान गरिरहेको जनाएको छ । 
 

Advertisement

Advertisement