स्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

Advertisement

काठमाडौं । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउनुहुन्छ । उहाँहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । 
    
‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा कोजु भन्छन् । 

Advertisement

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन् । जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो । हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् । 

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ । 
    
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।

Advertisement