सन नेपालको आईपीओमा अनियमितताः ८० प्रतिशत शेयर सीईओ अर्यालले नै राखेको खुलासा

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले कर्मचारीलाई लागि छुट्टाएको साधारण शेयर (आईपीओ)मध्ये करिब ८० प्रतिशत कित्ता आफैले खरीद गरेको रहस्य बाहिरिएको छ । 

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि यो रहस्य बाहिरिएको हो । धितोपत्र बोर्डले यस मुद्दामा प्रारम्भिक अनुसन्धान गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)लाई थप अनुसन्धान गर्न पठाइसकेको छ ।  

Advertisement

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले पनि यस मुद्दामा अनुसन्धान अघि बढेको बताए । ‘अहिले यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । बोर्डबाट प्राप्त कागजपत्रको आधारमा अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘उहाँहरु (कम्पनीका कर्मचारी) नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सुधार गर्छौं पनि भन्नु भएको छ । यसमा के कस्तो कारवाही गर्ने ? भन्ने बिषय अनुसन्धान सकिएपछि नै थाहा हुन्छ ।’

कम्पनीले ९६ लाख कित्ता शेयर जारी गर्न २०८० असार १९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसको पाँच प्रतिशत अर्थात् चार लाख ८० हजार कित्ता शेयर कम्पनीकै कर्मचारीहरुको लागि छुट्टाइएको थियो । 

कर्मचारीलाई छुट्टाइएको करिब ८० प्रतिशतसम्म शेयर सीइओ आफैले खरिद गरेरको धितोपत्र बोर्डको अनुसन्धानले देखाएको छ । यस सम्बन्धमा बोर्डमा उजुरी परेको थियो । त्यसपछि बोर्डले उप समिति नै बनाएर यसको छानविन गरेको थियो । 

छानविनको क्रममा यस्तो रहस्य बाहिरिएको बोर्डका एक अधिकारीले बताए । त्यसपछि बोर्डले सीआईबीलाई थप अनुसन्धान गर्न भन्दै कागज पठाएको हो । 

कम्पनीका कर्मचारीलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपियाँमै शेयर बिक्री गरिएको थियो । बाँकी शेयर भने सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामुहिक लगानी कोषलाई १३९ रुपियाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपियाँमा बिक्री गरिएको थियो । 

बैदेशिक रोजगारमा गएकालाई नौ लाख ६० हजार, सामुहिक लगानी कोषलाई चार लाख ८० हजार र सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयर प्रिमियमसहित बिक्री गरिएको थियो । 

तर, कर्मचारीलाई अंकित मूल्यमै छुट्टाइएको शेयर सीईओ अर्यालले कुम्लाएका हुन् । बुधबार नेपाल स्टक एक्सचेन्जमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ६२२ रुपियाँमा भइरहेको छ । अहिले उनलाई एक कित्तामा ५२२ रुपियाँ फाइदा भएको छ छ । तर, कर्मचारीको शेयर बिक्री गर्न तीन बर्षको लकिङ पिरियड हुन्छ । लकिङ पिरीयड सकिदाँ कम्पनीको शेयर मूल्य कति कायम हुन्छ, त्यसले कति नाफा हुन्छ भन्ने देखाउछ । 

अन्ततः शेयर पुनः बाँडफाडँ गर्दै कम्पनी
यता कम्पनीले भने कर्मचारीको लागि छुट्टाएको शेयर पुनः बाँडफाँड (रि–अलोटमेन्ट) गर्ने प्रक्रिया अगाडि बढाएको छ । धितोपत्र बोर्डले सीआईवीलाई थप अनुसन्धान अघि बढाउन सिफारिस गरेसँगै कम्पनीलाई पनि पुनः शेयर बाँडाफाँड गर्न निर्देशन दिएको थियो । 

सोहीअनुसार कर्मचारीलाई छुट्टाएको शेयर पुनः बाँडफाँड गर्न लागिएको कम्पनीका सुचना अधिकारी प्रदिप गौतमले जानकारी दिए । 
‘यो इस्यु करिब करिब क्लोज हुन लागि सक्यो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार हामीले शेयर पुनः बाँडफाँड गर्दैछौं । त्यसपछि सबै कर्मचारीले उचित ढंगले शेयर पाउनेछन्,’ उनले भने, ‘अब यो विवाद धेरै लामो समय रहदैन ।’ 

कम्पनीका उच्च पदस्थ कर्मचारीहरुले पनि सिआईबीमा पुनः शेयर बाँडफाँड गर्न लागेको भन्दै १५ दिनको समय मागेका छन् । त्यसमा कम्पनीलाई आवश्यक समय दिएको सीआईवीका एक उच्च अधिकारीले बताए । 

Advertisement

Advertisement