कर्मचारी काम गर्न छोडेर शेयर कारोबारमा भुलेपछि सिंहदरबारभित्र कारोबार निषेध गरिँदै

Advertisement

काठमाडौं । सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरु काम गर्न छोडेर शेयर कारोबारमा भुल्न थालेपछि सो क्षेत्रभित्र शेयर कारोबार नै निषेध गर्ने तयारी गरिएकोे छ । 

कर्मचारीहरु आफूले गर्नुपर्ने काम गर्ने र सेवाग्राहीलाई सेवा दिन छोडेर दिनभरी शेयर कारोबारमा रमाउन थालेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै उजुरी परेको थियो । 

Advertisement

सोही उजुरीपछि अख्तियारको टिमले सिंहदरबारमा छड्के अनुसन्धान गर्दा धेरै कर्मचारीहरु शेयर कारोबारमा लिप्त हुने गरेको पाइएको हो । शेयर बढ्दा खुशीमा चिच्याउने, घट्दा निराश भएर झोक्राएर बस्ने गरेको देखिएको छ । 

छड्केमा कतिपय कर्मचारीले शेयर कारोबार गर्ने गरेको पाइएको भन्दै अख्त्यिार स्रोतले कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा प्रयोग समेत गर्ने गरेको पाइएको बतायो । सोही तथ्यका आधारमा प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई शेयर कारोबारमा निरुत्साहन गर्न अख्तियारले पत्र पठाएको छ ।

अख्तियारको पत्रका आधारमा सिंहदरबारभित्र शेयर कारोबार निषेध गर्न प्राविधिक टोलीसँग छलफल भइरहेको जनाइएको छ । सिंहदरबारभित्र मात्रै नभएर अन्य सरकारी कार्यालयमा समेत कर्मचारीहरु शेयर कारोबारमा भुल्ने र सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो पहिलेदेखि नै आउने गरेको हो । अहिले देशको प्रशासनिक मुख्यालयमा नै यो समस्या देखिएको हो । 

Advertisement