स्मार्ट लाइसेन्स दिन नसकेको सरकारले अब राजश्व तिरेको रसिदमा नै क्यूआर कोड र फोटो राख्ने

Advertisement

काठमाडौं । सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवस्था कार्यालयले गत साउन २० मा नै लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेकोमा सो निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरिएको हो । यो निर्णयलाई अब यातायाता कार्यालयहरुले कार्यान्वयन गर्न थाल्नेछन् । 

Advertisement

अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ । कुनै लाइसेन्समा दुई वा सोभन्दा बढी वर्ग समावेश हुने भएकाले १७ लाख कार्डहरुमा लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ । अहिले दैनिक औसत ५ हजार नयाँ लाइसेन्स जारी वा नवीकरण हुन्छन् । विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरको समस्या देखाएर स्मार्ट लाइसेन्स वितरणमा ढिलाई गर्दै आएको छ । 

अहिले ३५ भन्दा बढी कार्यालयबाट जारी र नवीकरण हुने लाइसेन्स छाप्न काठमाडौंको मीनभवनस्थित विभागमा रहेको एउटा छापाखानामा भर पर्नुपर्ने अवस्था छ । विभागले पटक–पटक विभिन्न समस्या देखाएर लाइसेन्स छपाइ गर्न नसकेका कारण अहिले राष्ट्रिय परिचयपत्रबाटै लाइसेन्स हेर्न सकिने गरी प्रणाली अन्तरआवद्ध गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । 

यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी भइसकेको छ । अब ट्राफिक प्रहरीले हातमै उपलब्ध हुने डिभाइसबाट राष्ट्रिय परिचयपत्रमै लाइसेन्स चेक गर्न सक्ने व्यवस्था गर्ने सरकारी तयारी पनि छ । अझ रसिदमै क्युआर कोड राखिएपछि त्यही कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको वैधता जाँच्न गर्न सक्नेछन् । 

Advertisement