युवाहरु विदेश जानुस्, सीप सिकेर आउनुस्, म पनि गएर आएको होः उर्जामन्त्री

Advertisement

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले युवाहरु विदेश जानु अवराध नभएको बताउँदै विदेश गएर सीप सिकेर आउन सुझाव दिएका छन् । 

गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको नेपाल जेसीजको सम्मेलनमा उनले भने, ‘विदेश जानु अपराध होइन, त्यहाँ गएर सीप आर्जन गर्नु, मेहिनत गर्नु र फेरि आएर स्वदेशमा त्यसको सदुपयोग गर्नु अत्यन्त राम्रो पक्ष हो । त्यसैले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भनेर निर्माण गरिएको गलत भाष्य हटाउने दायित्व युवाकै काँधमा छ ।’

Advertisement

मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको खड्काको भनाई छ । उनले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताए । आफू पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको मन्त्री खड्काले बताए । 

मुलुकमा ठूलो परिवर्तन हुन लागेको भन्दै मन्त्री खड्काले युवाले त्यस परिवर्तनलाई बिर्सन लागेकाले सबैलाई सम्झाउन जरुरी रहेको बताए । उनले भने, ‘हामीले अहिले साढे २८ हजार मेघावाट विद्युत् उत्पादन गर्ने भनेका छौँ जहाँ ४७ खर्बभन्दा बढीको लगानी हुन्छ । त्यति लगानी गर्दा कति रोजगारी सिर्जना हुन्छ होला ? एक पटक विचार गर्नुहोस् ।’ 

मन्त्री खड्काले त्यहाँ प्रयोग हुने र उत्पन्न हुने रोजगारी महत्त्वपूर्ण भएको बताए । जेसीज सम्मेलनमा गैँडाकोटदेखि पश्चिमतर्फ महेन्द्रनगरसम्मका ५८ वटा शाखाबाट ३५० जना सहभागी रहेको जनाइएको छ । 

सम्मेलनका निर्देशक गोकुल सापकोटाले  सम्मेलनले गैँडाकोटको पर्यटनसँगै यहाँको सम्भावना र लगानीको अवसरका बारेमा युवाहरूलाई जानकारी गराउने बताए । दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा गोष्ठी, साधारण सभा, सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तृत्वकला प्रतियोगिता, व्यापार कार्ड साटासाट, तालिम, सकारात्मक कम्पन, पुरस्कार वितरणलगायत कार्यक्रम हुने नेपाल जेसीजका अध्यक्ष रवीन पोखरेलले बताए । 

Advertisement

Advertisement