संविधान बनाउने नाममा नेताले ५२ अर्ब बाँडे, हाम्रो गोजीमा एक पैसा परेनः डा. केसी

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिले नेपाल धर्म र संकटको अवस्थामा आईपुगेको उल्लेख गर्दै अब नयाँ विकल्पमा जानुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले अहिलेको संविधानले समस्या मात्रै दिएकोले समाधानको लागि अर्को विकल्पमा जानुपर्ने बताएका हुन् । 

केसीले भने, ‘नेपालका राजकीय मामिलामा आजसम्म सम्पादन गरिएका कामहरुमध्ये सवैभन्दा भड्किलो र खर्चिलो काम भनेको चाहीँ यही संविधानसभा थियो । चानचुन ५२ अर्ब यसमा खर्च भएको भन्ने छ । त्यो पैसा नेताहरुले नै गोडेको भनेर डा. सुन्दरमणि दीक्षितले भन्नुभयो । तर हाम्रो गोजीमा त एक पैसा पनि परेन् । यस्तो खर्च गरिगरिकन यस्तो खर्चिलो संविधान हाम्रो टाउकोमा हालिदिए । अब कुन खर्चले बनाउने ? कतिवटा संविधान बनाउने ?’ संविधानसभाबाट संविधान बनाउने नाममा पैसा खानेमा जनजातिको नाममा राजनीति गर्नेहरु पनि रहेको उनको टिप्पणी छ । 

Advertisement

अहिले देशको आर्थिक अवस्था पनि अहिलेको व्यवस्था महँगो भएको कारण बिग्रिएको उनको टिप्पणी छ । डा. केसीले भने, ‘यिनी आठ सय जना महँगा सेता हात्तीहरुले हाम्रो सम्पूर्ण साधन र स्रोत एकलौटी गरेको हुनाले हामी माग्ने भयौं । अब प्रभुजीहरुको कुरा, उहाँ त जनयुद्ध लडेर आउनुभएको हो । कति मान्छे मरे कति मान्छे जिउँदा भन्ने कुरा अर्कै हो । तर त्यो हिंसा भन्ने शब्दसँग पनि आजभोलि उहाँहरुलाई त्रास हुन थाल्यो भन्ने कुरा भर्खरै हाम्रो त्यो बैगुनी केटाको प्रसंगले देखाईदियो । त्यस्ता बैगुनी केटाहरु कति छन् होला त्यहाँ । यी केटाहरुको कारणले आज हामी माग्ने भयौं ।’

उनले माओवादी जनयुद्धलाई खुलाखुल्ला हिंसा नै भनेर दाबी गरे । यो कुरा स्वयम माओवादीको दस्तावेजमा पनि लेखिएको केसीले बताए । हिंसाको बलमा अहिलेको संविधान बनाईएकोले यसले समाधान नदिने उनको ठोकुवा छ । केसीले संविधानमा राम्रो कुरा भएपनि यसको आचरण व्यवहार राम्रो नभएकोले समस्या निम्तिएको बताए । 

कानून बनाउने व्यक्ति नै सहकारी ठगीमा मुछिएकोले भोलि विदेशीले पनि नेपालका बैंक र सहकारीको रिकमेन्डेशन नमान्ने अवस्था आउनसक्ने उनको भनाई छ । केसीले अहिले कसैले कसैमाथि पनि विश्वास गर्न सक्ने अवस्था नभएको जिकिर गरे । उनले आजको मुख्य प्रश्न भनेको नै राजनीतिक कमैया मुक्ति आन्दोलन भएको सुनाए । 
 

Advertisement