अहिलेका नेताहरु राजा ज्ञानेन्द्र शाहसँग डराएर बसेका छन्ः डा. दीक्षित

Advertisement

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेर मात्रै समस्याको समाधान नहुने ठोकुवा गर्दै यसको पूर्ण पूनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

आज (बिहीबार) रिपोर्टर्स क्लबमा उनले अहिले खान पल्किएका नेताहरुले लोकतान्त्रिक गणतन्त्रमाथि खतरा भएको भन्दै हाउगुजी पिटेको पनि टिप्पणी गरे । तर, युवाहरुमा यी नेतामाथि आक्रोश भने उनीहरुकै कार्यशैलीको कारण बढेको भन्ने कुराको चेत नेताहरुमा अझै नआएको दीक्षितको भनाई छ । 

Advertisement

उनले भने, ‘अहिले त कस्तो भयो भने बालेन शाहको तस्वीर अंकित टिसर्ट लगाउँदा समाउने अनि युवाहरुले फेसबुकमा स्टाटस लेख्दा पनि समाउने काम भएको छ । हुँदाुहँदा युवाहरुलाई अब चित्त नबुझेर ओली र देउवाविरुद्ध हुटिङ गरे भनेर ती युवालाई पनि समातियो । यो के लोकतन्त्र हो ? संविधान र लोकतन्त्र बचाउ भन्छन् । गणतन्त्रको कुरै छोडिदिउँ, यहाँ लोकतन्त्र नै मासिँदैछ । कसले मास्दैछ ? तिमीहरुले मास्दैछौं, जो राज्यसत्तामा बसेकाहरु छौं, हो तिमीहरुले मास्दैछौ । राज्य चलाउनेहरुका शीर्ष नेताहरु काम गर्दैनन् । किताबमात्रै विमोचन गर्छन् । तिम्रै कर्तुतको कारण गणतन्त्र खतरामा छ ।’

अहिलेका नेताहरु राजा ज्ञानेन्द्र शाहसँग डराएर बसेको पनि उनले बताए । दीक्षितले भने, ‘राजा त आरामसँग नागार्जुनमा बसेका छन् । तर, तिम्रै कर्तुतको कारण आज जनता राजातिर ढल्किएको चाहीँ पक्का हो । शंका नै मान्नुपर्दैन् । नेताभन्दा बरु राजा ज्ञानेन्द्र नै राम्रो भन्न थालिसके । घरघरमा यो कुराको चर्चा छ ।’

उनले वर्तमान संविधान जारी गर्दा राज्य सञ्चालनमा बसेकाहरुले बलमिच्याईं गरेको आरोप लगाए । दीक्षितले भने, ‘यो संविधान कसरी आयो ? मान्छेको चिता जलेपछि यो संविधान आएको छ। मधेशमा ब्ल्याक–आउट भएको छ । जनजाति र दलितले मानेको छैन् । जबरजस्ती यिनीहरुले यो संविधान जारी गरे । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेट्न गयौं । ७÷८ दिन भनेर मधेशी नेताले समय मागेका थिए । यही कुरा अनुरोध गर्दा उहाँ सुवासले मलाई भन्नुभयो–के गर्नु डाक्टरसाहेब, ओलीजी मान्नुहुन्नँ भन्नुभयो । यस्तो जबरजस्तीबाट आएको संविधान कसरी मान्ने ?’

नागरिक समाजका अगुवा दीक्षितले नेपालमा अहिलेको संसदीय व्यवस्था नै फेलियर भएको दाबी गरे । उनले थपे, ‘संविधान लेख्ने व्यक्तिहरुले यो बुझ्नुपर्छ । यो संसदीय व्यवस्था किन चलेन ? २००७ सालपछि दुईपटक कू भयो, किन भयो भनेर विश्लेषण गरिएन । अहिलेका नेताहरु त वाम पुड्के नेता हुन, उनीहरुको सोचको कारण म यो भन्दैछु । खान पाएका छन्, खाएर बसेका छन् । संसदीय व्यवस्था नै कच्चा छ । के संशोधन गर्ने ? मधेशी नेताले पनि तीन बुँदे सहमति गरेर जनतालाई धोका दिए । संशोधन गर्ने होईन, पूर्ण रुपमा रिभ्यु गर्नुपर्छ ।’

संसदीय लोकतान्त्रिक व्यवस्था नेपाललाई सहुाउँदा पनि नसुहाएको दीक्षितको तर्क छ । उनले भने, ‘यो व्यवस्था नेपाललाई सुहाएन । अब चल्दा पनि चल्दैन् । यस्तैमा लाग्यौं भने नेपाल ध्वस्त हुन्छ अनि विदेशीले टेकओभर गर्छ । अर्थतन्त्र खोक्रो छ । युवा पलायन भएका छन् । केही पनि बाँकी छैन् । यो सिस्टमलाई चेञ्ज गर्नुपर्छ । देशव्यापी रूपमा चुनिएको राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । यी लुटेरा नेताहरु खान पल्किएका छन् । उनीहरु त्यसमा जान डराएका छन् । तर, अब जनता जागेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा नजाने हो भने देशव्यापी चुनिएको प्रधानमन्त्री र सानो संसद अनि राजालाई सेरोमोनियल बनाएर राख्नुपर्ने दोस्रो विकल्प पनि दीक्षितले सुझाए । उनले भने, ‘पहिलो प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै हो, दोस्रो देशव्यापी चुनिएको प्रधानमन्त्री अनि सानो पार्लियामेन्ट बनाऔं । र, राजालाई सेरोमोनियल बनाऔं । डर छ भने राजालाई खोपामा राखिदेउ । संविधानमा के लेखिएको छैन, सबै लेखिएको छ । भन्न त शिक्षा र स्वास्थ्य फ्रि भनियो, तर व्यवहारमा छ त ? भ्रष्टाचारले सबै खाईसक्यो । २०८४ मा यही सिस्टममा गए नेपाल रहँदैन् । अब जनतालाई चाहिएको कुरा हेर्नुपर्छ । अहिलेका खान पल्किएकाहरुले यो सिस्टम छोड्न चाहँदैनन् । जनता र राष्ट्र सोच्नुपर्छ । नत्र कुनैपनि संविधान काम लाग्दैन् ।’
 

Advertisement