धवलागिरि हिमाल चढ्न १४ जनालाई अनुमति

Advertisement

काठमाडौं । यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।

एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

Advertisement

गत वसन्त याममा तीन समूहका २२ पुरुष र ८ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत ७१ लाख ७० हजार ७५० रुपैयाँ शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र २७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट ४ करोड ५२ लाख ४५ हजार ८४८ रुपैयाँ आरोहण शुल्क प्राप्त भएको छ ।

शरद्मा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।

शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो ।

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो ५, थाकर गो इस्ट ४, पुङ्गी ५, कुम्भकर्ण ५, अरनीको चुली ३, अपी ६ र मकालु पहिलो आरोहण गर्न २ जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि १ हजार २ जनाले अनुमति लिएका थिए । उनीहरुले ६८ करोड ९९ लाख ७५ हजार ३११ रुपैयाँ आरोहण शुल्क तिरेको विभागले जनाएको छ ।

Advertisement

Advertisement