कर्जाको माग नहुँदा केन्द्रीय बैंकमार्फत एकैमहिना ४४ खर्ब ७६ अर्ब तरलता प्रशोचन

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ठूलो रकम प्रशोचन गरेको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्र निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत गरी केन्द्रीय बैंकले कूल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो । 

बिहीबार आर्थिक वर्षको पहिलो महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले साउनमा निक्षेप संकलन बोलकबोलमार्फत ८७ अर्ब ८० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ४ खर्ब ३८ अर्ब ६५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको जनाएको छ । 

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद २ खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ५५ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ३४ करोड १० लाख बिक्री गरी ४५ अर्ब ७१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २४ करोड बिक्री गरी ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । 

Advertisement

Advertisement