बाढी पहिरोमा परि बागमतीमा ६ जनाको मृत्यु, १४ जना वेपत्ता

Advertisement

काठमाडौं । अविरल वर्षसँगै आएको तीब्र बाढी पहिरोमा परेर बागमतीमा ६ जनाको मृत्यु र १४ जना बेपत्ता भएका छन् । 
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा गरी ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने बाढी परेर एक जनाको मृत्यु भएको हो । बिहीबार विहानैदेखि शुरु भएको वर्षाका कारण पहिरो तथा बाढी जाँदा प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । 

Advertisement

प्रहरी कार्यालय हेटौँडाका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको छ भने खोला तर्ने क्रममा सिन्धुलीमा एक जनाको बाढीले बगाएर मृत्यु भएको छ । 

यसैगरी बाढी पहिरोमा परि काभ्रेपलाञ्चोकमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ जना र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

साथै बिहीबारदेखिको अविरल वर्षा र बाढी पहिरोका कारण प्रदेशका १८ वटा भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको र एउटा आंशिक क्षति भएको समेत प्रहरी कार्यालयले जनाएको छ । 

१०७ वटा घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानका १०७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेका चितवनका १०० घर परिवार र दोलखामा ७ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी कार्यालयले जनाएको हो ।

काभ्रेपलाञ्चोकका ४ वटा घर परिवार र दोलखाका एक गरी ५ वटा घर बाढी पहिरोको उच्च जोखिममा रहेको हेटौंडाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले बताए । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ ।

Advertisement

Advertisement