बाढी र पहिरोबाट १७ अर्ब रुपियाँभन्दा बढी क्षति भएको सरकारको प्रारम्भिक अनुमान

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने दावी गरेका छन् । 

उनले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको पनि बताएका छन् ।

Advertisement

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रम ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको, विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको बताए ।

यस्तै बाढी र पहिरोबाट १७ अर्ब रुपियाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको अर्यालले बताए । भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब, र सिँचाइतर्फ एक अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ ।

त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने कृषितर्फ छ अर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

सरकारले विपद्पछि खोजीकार्यमा ३० हजार सात सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत परिचालन भएको जनाएको छ ।

विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

Advertisement

Advertisement