नेपालबाट बाहिरिने रेमिट्यान्स ५८ प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स घटेको छ । समीक्षा महिनामा त्यस्तो रेमिट्यान्स ५८ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको छ । 

गत आवको साउन महिनामा नेपालबाट ८३ करोड १९ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो । चालु आवको साउन महिनामा भने ३५ करोड रुपियाँ मात्रै रेमिट्यान्स बाहिरिएको छ । गत आव भरीमा नेपालबाट ६ अर्ब  ६ करोड रेमिटयान्स बाहिरिएको थियो । 

Advertisement

नेपालमा रेमिट्यान्स आप्रवाह उच्च हुने गर्छ । गत आवमा १४ खर्ब ४५ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स आएको थियो । यो साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । यसरी नेपालीले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स बर्षेनि बढ्दै गएको छ । सोही मुलुक अर्थात् नेपालबाट रेमिट्यान्स पनि बाहिरिन्छ । 

नेपालमा श्रम स्वीकृत लिएर काम गर्न आएका विदेशी कामदारले कमाएको पैसा आफ्नो देश पठाएका हुन् । उनीहरुले कमाएको पैसा मध्ये ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । बाँकी रकम भने उनीहरुले यहाँ आवास लगायतका शीर्षकमा खर्च गर्नुपर्छ । 

श्रम बिभागले हालसम्म २१ हजार १५८ जना विदेशीलाई नेपालमा काम गर्न श्रम इजाजत दिएको छ । तर, त्यसमा कति श्रम इजाजत नविकरण भयो भन्ने तथ्यांक भने बिभागले सार्वजनिक गरेको छैन । 

नेपालमा विशेष गरी चीन, लण्डन, अमेरिका, कोरिया, जापान र भारतबाट धेरै कामदार आउने गर्छन् । पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसैगरी बिभिन्न पूर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् । यसका अलावा नेपालका कम्पनी, उद्योग, परियोजनाले पनि विदेशबाट प्राविधिक तथा विज्ञ कामदार ल्याएर काम गरिरहेका छन् । 

अहिले नागढुंगा टनेल निर्माणमा जापानका कामदार कार्यरत छन् । यसैगरि बिभिन्न जलविद्यत् परियोजनामा चिनियाँ कामदार कार्यरत छन् । विदेशी निर्माण कम्पनीले ठेक्का पाएका पुर्वाधार परियोजनामा विदेशी कामदार छन् । विदेशी लगानीका कोकाकला, युनिलिभर नेपाल, डावर नेपाल, एनसेल, स्टायन्डर्ड चार्टड बैंक, एसबीआई बैंक, एलआईसी नेपाल, मेट लाइफ इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स जस्ता कम्पनीमा पनि विदेश कामदार कार्यरत छन् । यो बाहेक नेपाली लगानीकै कम्पनी तथा परियोजनाहरुले विदेशबाट कामदार ल्याएका छन् । 

नेपालमा सबै खाले सिप भएका व्यक्ति हुँदैनन्, त्यो अवस्थामा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता पनि छन् । त्यो अवस्थामा नेपालबाट बाहिरीने रेमिट्यान्सलाई स्वभाविक मान्ने गरिन्छ । तर, नेपाली श्रमिकले गर्न सक्ने ठाउँमा विदेश कामदार ल्याउन नहुने अर्थविद्हरु जोड दिन्छन् । सामान्य मजदुर समेत विदेशबाट ल्याउनु दुःखद पक्ष भएको विज्ञहरु बताउँछन् । 

यद्यपि, नेपालदेखि अनौपचारिक माध्यमबाट पनि रेमिट्यान्स बाहिरीने गरेको  छ । बिशेषगरि नेपालबाट भारतमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स जाने गर्छ । किनकी, भारतका थुप्रै नागरिक नेपालमा आएर अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरुले श्रम इजाजत पनि लिएका छैनन् । त्यस्ता कामदारले यहाँ कमाएको पैसा औपचारिक माध्यमबाट पठाउन पाउदैनन् । उनीहरुले नगदकै रुपमा आफ्नो देश पैसा पठाउने गर्छन् ।  त्यसरी पनि नेपालबाट भारत जाने रेमिट्यान्स धेरै भएको जानकारहरु बताउछन् । 
यस सम्बन्धी सरकारी तथ्यांक छैन । 

यद्यपि अमेरिकाको पिउ रिसर्च सेन्टरले सन  २०१७ मा गरेको एक अध्ययनले नेपालबाट बार्षिक तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स भारत जाने देखाएको थियो । भारतबाट भने एक अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

Advertisement