सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइए

Advertisement

पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

बाग्लुङका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । लामो समयदेखि फरार रहेका नेपाली नयाँ दिल्लीमा पक्राउ परेका थिए । उनलाई आइतबार बागलुङ ल्याइएको थियो । 

Advertisement

नेपालीको सोमबार बयान सकेर आज भएको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गर्ने र इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका उनका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिइएको हो ।

सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माका अनुसार बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दशैं पछाडि मात्र उनलाई पोखरा पठाउने सम्भावना रहेको बताइएको छ । 

नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट बचत रकम अपचलन गरेको, बाग्लुङमा पनि सेवा सहकारी ऐन नियमविपरित केन्द्र सञ्चालन गरेको आरोप नेपालीमाथि लागेको छ । उनले बागलुङमा मात्र एक अर्ब ३८ करोड रुपियाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ६० करोड रुपियाँ अपचलन गरेको आरोप लागेको छ । 

इमेज सहकारी ठगी मुद्दामा पदाधिकारी चित्रबहादुर, शक्ति किसान, लालरमती, डोरबहादुर, लक्ष्मी सेन, र अनिता बुढामगर पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।

Advertisement

Advertisement