दशैंको फुर्सदमा कुन किताब पढ्ने ? किन पढ्ने ?

Advertisement

काठमाडौँ । दशैं संघारमै आइसकेको छ । वर्षदिनको पर्खाइपछि आउने यो पर्वले हर्षोल्लास पनि सँगसँगै बोकेर ल्याउँछन् । तर यसपटक विगतका वर्षजस्तो हर्षोल्लास छैन । यही असोज ११ र १२ गते देशभर आएको अविरल वर्षाका कारण सयौंले ज्यान गुमाएका छन् भने कैयौँ घरबारविहीन, आफन्तविहीन छन् । 

बाढीपहिरोले गर्दा विभिन्न सडकखण्ड अवरुद्ध छन् । सार्वजनिक यातायात नचल्दा र हवाईभाडा दोब्बर बढ्दा यात्रु मर्कामा परेका छन् । आज पनि कति मान्छे उपत्यका छोड्दै होलान्, कति जसोतसो घरगाउँ पुगेका होलान् । 

Advertisement

दशैंमा फुर्सदको समय हुन्छ । खेल्ने, रमाउने, साथीभाइ भेटघाट गर्ने यो अनुपम पर्व हो । अघिपछिको व्यस्त जीवनशैली चाडबाड आएसँगै फुर्सद र रमाइलोमा बित्ने गर्छ । कति मानिस यही मौकामा घुमफिर गर्छन् भने कसैले किताब पढ्ने गर्छन् । यदि तपाईं पनि दशैंमा किताब पढ्ने सोच बनाउँदै हुनुहुन्छ भने कर्पोरेट नेपालका तर्फबात तपाईंलाई यी १० किताब उपयुक्त हुन सक्छन् । यद्यपि किताब कुन छान्ने र कुन पढ्ने भन्ने विषयमा तपाईं स्वतन्त्र हुनुहुन्छ । 

मुकाम रणमैदानः पत्रकार तथा लेखक मोहन मैनालीले नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा लेखेका हुन् । यो कृतिले गत वर्षको मदन पुरस्कार पनि पाएको छ । बुकहिलले प्रकाशन गरेको कृतिको मूल्य ७०० रुपियाँ छ । 

हिमालपारिको हुरी र भिक्षु, व्यापार र विद्रोहः पत्रकार एवं लेखक सुधीर शर्माका नयाँ गैरआख्यान कृति हुन् । हालै मात्रै सार्वजनिक भएका ‘हिमालपारिको हुरीमा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’ मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन् । किताब पब्लिशर्सले प्रकाशन गरेको यी दुई कृतिको मूल्य १५९८ रुपियाँ रहेको छ । 

वैकल्पिक अर्थतन्त्रः राजनीति विश्लेष हरि रोकाद्वारा लिखित यो गैराख्यान कृतिले संकटग्रस्त नेपाली अर्थतन्त्रको वैकल्पिक बाटो खोज्ने बौद्धिक उद्यमबारे भन्छ । १२ अध्यायमा संरचित यस पुस्तकले उद्योग, कृषि, भूमिसुधार, वित्तीय जगत्जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रको आजको समस्याग्रस्त यथार्थको विश्लेषण गर्दै  वैकल्पिक दिशाको पैरवी गर्छ । 
बेला पब्लिकेसन्सले प्रकाशन गरेको यसको मूल्य ११११ रुपियाँ छ ।

छालबाटोः वातावरण पत्रकार रमेश भुसालले ३ देश, २ हजार किलोमिटर र ४५ दिन यात्रा गरेर लेखिएको किताब हो यो । काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा यसमा वर्णन छ । पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो छालबाटो । यसमा जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । फाइन प्रिन्टले प्रकाशन गरेको यसको मूल्य ७९० रुपियाँ रहेको छ । 

सिमसाराः पत्रकार बसन्त बस्नेतको नयाँ उपन्यास सिमसारा मूलखाँबो नमिलेको एउटा घरको कथा हो । ‘यो कथा टाढिन विवश तीन पात्रको सुन्दर कथा हो । कथामा प्रेम अलिअलि गर्दै निभ्दै छ । यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन । यो कथा हो, छोरा संवत्को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन्,’ किताबमा भनिएको छ । फाइन प्रिन्ट प्रकाशन रहेको यसको बजारमूल्य ६५० रुपियाँ छ ।

एउटा मायी नगरमाः कवि एवं गीतकार रमेश क्षितिजको कथासंग्रह हो यो । बेग्लै बान्की र शैलीमा लेखिएका कथाले तपाईंलाई मन पर्न सक्छन् । काव्यिक स्वाद, उच्च कल्पनाशीलता अनि मौलिक शैली यसमा पाइन्छ । बुकहिलले प्रकाशन गरेको यसको मूल्य ७५० रुपियाँ छ । 

दर्ज्यु संलापः यो निबन्धसंग्रह हो । निबन्धमा भुँइमान्छे र नारीका गहन विषय उठाइएको छ । ठूला मान्छे र ठूलो विषय नभए पनि राम्रो र स्तरीय रहेको तथा जात र वर्णमा लोप हुन लागेको जातको विषयमा लेखिएको सुन्दर कृति हो । कुमारी लामाद्वारा लिखित यो निबन्धसंग्रह शिखा बुक्सले प्रकाशन गरेको हो । यसको मूल्य ५२५ रुपियाँ छ । 

स्वः बुद्ध दर्शनलाई आधार बनाएर लेखिएको उपन्यास हो यो । लेखक सरस्वती प्रतीक्षाले यसमा आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई चित्रण गर्ने कोसिस गरेकी छिन् । यसमा समाज, दर्शन, चिन्तन र स्वैरकल्पनाको प्रयोग भएको छ । 

सम्मोहनः कवि राधिका कल्पिको कथासंग्रह हो सम्मोहन । यसका कथामा पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरिएको छ भने सामाजिक विघटन, यौन मनोविज्ञान पनि कथामा पाइन्छ । 

Advertisement

Advertisement