लेबनानमा शान्ति सैनिक लखेटिएपछि नेपाली सेनाले भन्यो– हाम्रा सेना सुरक्षित छन्

Advertisement

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरव केसीले शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् । 

Advertisement

उनका अनुसार लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने छ ।

शान्ति मिसन वरपर छिटपुट घटना भएको र यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको जनाइएको छ । हाल लेबनानमा ८७७ नेपाली शान्ति सैनिक छन् ।

लेबनानमा युद्ध चर्किरहेका बेला राष्ट्रसङ्घबाट खटिएका नेपाली शान्ति सैनिकहरू लखेटिएका हुन् । हिजबुल्लाहविरुद्ध इजरायलले लेबनानको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेको जनाइएको छ ।

शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

बीबीसीका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

इजरायल र हिजबुल्लाबीच लेबनानमा लडाइँ जारी छ र इजरेली फौजले दक्षिणी लेबननमा स्थल कारबाही पनि गरिरहेको जनाएको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)को ट्याङ्कबाट प्रहार भएको गोलाबाट गत बिहीवार दक्षिणी लेबनानमा दुई जना इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए । 

शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको पनि आईडीएफले जिम्मेवारी लिँदै अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो ।

शुक्रवारकै अर्को घटनामा फेरि दक्षिण लेबननमा गोली लागेर थप एक शान्ति सैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिवार जनाएको थियो । 

लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल०ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबनानमा रहेको शान्ति सेना तत्काल त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए।

तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएको बीबीसीले जनाएको छ । 

Advertisement

Advertisement