अब भारतमा गएर बस र मिनिबसको 'बडी' निर्माण गर्न सकिने, १५ लाख भारुको सटही सुविधा

Advertisement

काठमाडौं । अब यातायात व्यवसायीले भारतमा लगेर बस र मिनिबसको बडी निर्माण गर्न पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र संसोधन गर्दै यस्तो प्रयोजनका लागि १५ लाख भारुसम्मको सटही सुविधा दिने व्यवस्था गरेको छ । योसँगै अब व्यवसायीहरुले भारतमा गएर आफ्नो बस र मिनिबसको बडी निर्माण गर्न सक्ने भएका हुन् । 

Advertisement

‘...बस/मिनिबसको बडी निर्माणको लागि देहाय बमोजिमका कागजातहरुको आधारमा भारतीय फर्म, कम्पनी वा संस्थाले भुक्तानी पाउने गरी नेपाली नागरिकलाई समेत प्रति सवारी भारु. १५ लाखसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाटै प्रदान गर्न सकिनेछ । यस्तो सटही सुविधा प्रदान गर्दा नियामक निकायको स्वीकृति÷सिफारिस अनिवार्य हुने छैन,’ संसोधित परिपत्रमा भनिएको छ । 

यस्तो सुविधाको लागि भुक्तानी प्राप्त गर्ने भारतीय फर्म/कम्पनी/संस्थाको प्रोफर्मा इन्भ्वाइस अनिवार्य पेश गर्नुपर्नेछ । यस्तै, बस/मिनिबस खरिदको बीलबीजकको प्रतिलिपि, बस/मिनिबसको भन्सार प्रज्ञापनपत्रको प्रतिलिपि, बस/मिनिबसको बडी निर्माण गर्न पठाउँदा भन्सार धरौटी रसिदको प्रतिलिपि, बस/मिनिबसको बडी निर्माण गर्न नेपाल स्थित भारतीय कूटनीतिक नियोगको भईकल एक्जीट पर्मिटको प्रतिलिपि र बस/मिनिबसको व्यावसायिक सवारी साधन बीमालेखको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । 

यस्तै, बस÷मिनिबसको सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि, सटही सुविधाको आवेदक नेपाली नागरिक भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आवेदक फर्म/कम्पनी/संस्था भए फर्म/कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,  र आवेदकको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

Advertisement

Advertisement