दुई महिनामा २८ अर्ब १६ करोड बाहिरियो

विदेशी मुद्राः रेमिट्यान्सको रुपमा भित्रिँदै, अध्ययनको नाममा बाहिरिँदै

Advertisement

काठमाडौं । मुलुकको वर्तमान अर्थचित्र, आयात र निर्यातको असन्तुलतका बाबजुद बढ्दो रेमिट्यान्सको परिणामले शोधनान्तर स्थिति (बीओपी) बचतमा नै रहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबै खर्च (अन्तर्राष्ट्रिय भूक्तानी) कटाएर शोधनान्तर स्थिति कूल एक खर्ब १ अर्ब ७७ करोड रुपियाँ बचतमा रहन सफल भएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा मुलुकको शोधनान्तर स्थिति जम्मा ५५ अर्ब १० करोड रुपियाँ हाराहारी मात्र बचतमा रहेको थियो ।

समीक्षा अवधिमा यसरी शोधनान्तर बचत झण्डै दोब्बर परिणामले बढ्नुमा भने रेमिट्यान्स (विप्रेषण आप्रवाह) को ठूलो भूमिका रहेको छ । यसमा पछिल्लो समय बढेको पर्यटक र पर्यटन गतिविधिले पनि केहीँ भरथेग गरेकै छ । 

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.२ प्रतिशतले रेमिट्यान्स बढ्नुले बीओपीमा ठूलो सहयोग पुगेको छ । तर, यसरी भित्रिएको रेमिट्यान्सको पैसा फेरि अब्रोड (वैदेशिक शिक्षा) को नाममा बाहिरिरहेकोमा भने चिन्ता थपेको छ । 

अब्रोडको नाममा दुई महिनामा २८ अर्ब १६ करोड बाहिरियो 

केन्द्रीय बैंकका अनुसार पछिल्लो दुई महिनामा वैदेशिक भ्रमण अन्तर्गतको शिक्षाको नाममा २८ अर्ब १६ करोड रुपियाँ बाहिरिएको छ । अघिल्लो वर्ष यसै शीर्षकमा २३ अर्ब ३३ करोड रुपियाँ बाहिरिएकोमा यो वर्ष यस्तो खर्च झण्डै २१ प्रतिशतले वृद्धि भएको हो । 

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड पुगेको छ । अर्थात् नेपाल भ्रमणमा आउने पर्यटक, परिवेक्षक तथा शैक्षिक गतिविधि बापत नेपाललाई साढे १० अर्ब रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ४० करोड रहेको थियो ।

तर, यता भ्रमण आय बढ्दैगर्दा उता व्यय (खर्च) थप दोब्बर अंकले बढेको स्थिति छ । केन्द्रीय बैंकका अनुसार साउन र भदौमा मुलुकको भ्रमण व्यय २२.२ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । जसमध्ये शिक्षातर्पmको व्यय मात्र २८ अर्ब १६ करोड रहेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपियाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रहेको थियो । 

तथ्यांक हेर्दा शैक्षिक यात्रामा मात्र होइन नेपालीहरुले विलासी विदेश भ्रमणमा समेत राम्रै खर्च गर्ने गरेको स्पष्ट हुन्छ । जुन खर्च नेपाल भित्रिने पर्यटकले गर्ने भन्दा अझ बढी रहेको छ । 

Advertisement

Advertisement