एक विकास बैंकसहित पाँचवटा बैंकको लाभांश घोषणा, कसले कति दिने भए प्रतिफल ?

Advertisement

काठमाडौं । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंक तथा १८ वटा विकास बैंकहरुमध्ये हालसम्म पाँचवटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को वित्तीय कारोबारबाट प्राप्त नाफाबाट एउटा विकास बैंकसहित चारवटा वाणिज्य बैंकहरुले लाभांश वितरणको घोषणा गरेका हुन् । 

वाणिज्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिटिजन्स् बैंक र एभरेष्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरणको घोषणा गरेका छन् भने विकास बैंकतर्फ हालसम्म एउटा मात्र कामना सेवा विकास बैंकले नगदसहित बोनस सेयर वितरणको घोषणा गरेको छ ।

Advertisement

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभग्राही सेयरधनीहरुमा वितरण हुनेछ । 

ग्लोबल आईएमई बैंक

ठूला बैंकहरुमध्येको अग्रणी बैंक ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ५.५ प्रतिशत मात्र लाभांश वितरणको प्रस्ताव गरेको छ । २०८१ असोज २२ गते लाभांश वितरणको घोषणा गरेको बैंकले सेयरधनीलाई सिधै ५.५ प्रतिशत बोनस सेयर प्रदान गर्ने जनाएको छ । नगद लाभांशका लागि कत्तिपनि नगद नछुट्याएको बैंकले करबापत के गर्छ सो भने हालसम्म निश्चित हुन सकेको छैन । 

एभरेष्ट बैंक

सेयर बजारमा निकै रुचाइएको र लाभांशमा आकर्षक मानिएको एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रदान गर्ने जनाएको हो । 

तथापि, अघिल्लो वर्ष तुलनामा भने यो वर्ष बैंकको लाभांश घटेको हो । आर्थिक वर्ष २०७९/८० मा बैंकले १० प्रतिशत बोनस सेयरसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष बैंकको लाभांश ५ प्रतिशतले घटेको हो । 

सानिमा बैंक

सानिमा बैंकले यो वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंक आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको हो । अघिल्लो वर्ष यो बैंकले ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

सिटिजन्स् बैंक

सिटिजन्स् बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष ५.७९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको बैंकले यो वर्ष ४ प्रतिशत बोनस सेयरसहित ०.२१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

Advertisement

Advertisement