रास्वपाको आन्दोलनले पोखराका सस्ता होटल भरिभराउ, तर स्तरीय होटलहरुले पाएनन् 'अकुपेन्सी'

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरा केन्द्रित आन्दोलनले पर्यटकीय राजधानी पोखराको वातावरण अस्तव्यस्त बन्न पुगेको छ । पर्यटन व्यवसायको मुख्य सिजनमा नै यस्तो गतिविधि हुनुले व्यवसायीहरुमा निरासा छाएको गुनासो छ ।

तथापि, आन्दोलनले बढाएको क्राउडले भने पोखराका सस्ता होटलहरु भरिभराउ भएका छन् । आन्दोलनका लागि देशैभरीबाट रास्वपा कार्यकर्ता तथा सुभेच्छुकहरु पोखरा ओहिरिदा होटलहरुले राम्रो बिजनेश पाएका हुन् । 
तर, यस्तो बिजनेश सस्ता र नन् क्लास होटलहरुले पाएपनि स्तरीय र सुविधासम्पन्न होटलहरुले खासै अकुपेन्सी पाउन नसकेको पोखरा स्थिति होटल व्यवसायीहरुले बताएका छन् । बरु उल्टो आन्दोलनले पर्यटनको मुख्य सिजनमा नै अवरोध सिर्जना गरेको व्यवसायीहरुको गुनासो छ । 

Advertisement

‘यो समय भनेको अल मस्ट होटलहरु फुल हुने बेला हो । तर बाटोको दुरावस्था, आन्दोलन विविध कुराहरुले गर्दा यो समयमा पनि पोखरामा पर्यटक छैनन्’ होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले गुनासो गरे । 

सुवेदीका अनुसार दशैं अघिसम्म पोखराका होटलहरुमा ४० देखि ५० प्रतिशत हाराहारी अकुपेन्सी (ग्राहक) रहेका थिए । दशैंका बेला आन्तरिकसँगै केही बाह्य पर्यटक बढेर ७० प्रतिशतसम्म पुगेकोमा अहिले सो समेत घटेर ५० प्रतिशत हाराहारीमा झरेको छ । यो सिजनमा कम्तीमा पनि ९० प्रतिशत पर्यटक हुनुपर्ने अध्यक्ष सुवेदीले बताए । 

राजस्वपाको आन्दोलले पोखरामा आन्तरिक पर्यटकको भिड बढेपनि स्तरिय नभएको उनको भनाइ छ ।  यी आन्तरिक पर्यटक लेक साइटको पर्यटकीय क्षेत्रमा भन्दा पनि बसपार्क वरपरका सस्ता होटलहरुमा केन्द्रित भएको उनको भनाइ छ । 

बाह्य पर्यटकमा पनि यतिबेला पोखरामा बढी भन्दा बढी भारतीय पर्यटक रहेकाले तेस्रो मुलुकहरुको पर्यटकको पर्खाइमा व्यवसायीहरु रहेको उनले बताए । 

गत शुक्रबार रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरी पक्राउ गरेर जिल्ला अदालत कास्की, पोखरा लगेको थियो । योसँगै आन्दोलित रास्वपाका नेता, कार्यकर्ता तथा सुभेच्छुक लगायत रास्वपा पक्षधरहरु पोखरा ओर्लिएका छन् । यसै समयमा उता सहकारी पीडितहरु समेत रविको विरोधमा पोखरा केन्द्रित आन्दोलनमा उत्रिएका छन् । यसरी दुई पक्ष नै आन्दोलनमा होमिदा पोखराको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको व्यवसायीहरुको गुनासो छ । 

रास्वपा र सहकारी पिडितहरुको दोहोरो प्रदर्शनले पोखरामा रहेका विदेशी पर्यटकहरुमा नकारात्मक सन्देश जाने अध्यक्ष सुवेदीले बताए । 
‘अन्दोलनले पोखरामा पर्यटक रोकिएको छैन । तथापि, हामी व्यवसायीहरु आन्दोलनलाई समथन गर्दैनौं । हामी शान्ति चाहन्छौं, सहज व्यवसायको वातावरण चाहन्छौं । यही शान्ति र रमाइलोका लागि नै त विदेशी पर्यटक नेपाल आउने हुन् । पोखरामा आन्दोलन भइरहेको छ, भन्ने सन्देश विश्व बजारमा जानु हाम्रा लागि राम्रो होइन’ उनले भने । 

Advertisement

Advertisement