काठमाडौं । केन्द्रीय बैंकले तिहारका लागि आगामी कात्तिक ११ गतेदेखि १४ गतेसम्म सुनचाँदीको असर्फी बिक्री खुला गर्ने भएको छ । कात्तिक कृष्ण पक्ष तिथी, धनतेरस अर्थात् धनवन्तरी त्रयोदशीका दिन सुनचाँदीका असर्फी, सिक्का, मेडालियन तथा स्मारिकाको उच्च माग हुने हुँदा गत वर्षहरुमा जस्तै यसवर्ष पनि केन्द्रीय बैंकले सुनचाँदीका असर्फीहरुको बिक्री खुला गर्न लागेको हो ।
यसपटक धनतेरस कात्तिक १४ गते परेको छ । धनतेरसको अघिल्लो दिन कात्तिक १३ गते एकदिन मात्र सुनको असर्फी बिक्री गर्ने जनाएको केन्द्रीय बैंकले एक व्यक्तिले २.५ ग्रामको एक थान मात्र सिक्का किन्न पाउने जनाएको छ ।
तर, चाँदीको स्मारिका तथा मेडालियनको बिक्री भने २०८१ कार्तिक ११ देखि १४ गतेसम्मै चार दिन विहान ११ बजे देखि मध्यान्न ४ बजेसम्म बिक्री खुल्ला गरिने केन्द्रीय बैंकले जनाएको छ । चाँदीका असर्फी, सिक्का, स्मारिका तथा मेडालियन भने प्रति व्यक्ति बढीमा पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येवाट) विक्री गरिने बैंकले जनाएको छ ।
तर, सुनका असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि खरिदकर्ताले अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि ल्याउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ । सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने सुनको मूल्य अनुसार निर्धारण गरिने भएकोले सोही दिन ११ बजे पश्चात् मात्र विक्री सुरु गरिने बैंकले जनाएको छ ।
धनतेरसको महत्व
पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।
धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।
यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो । यसै दिन नेपालीहरुले सुनचाँदीका असर्फी, सिक्का, मेडालियन तथा स्मारिका किन्ने चलन छ ।