काठमाडौं । चीनमा आधारित प्रविधि कम्पनी टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । शर्तहरु पालना गरेपछि टिकटकलाई दर्ता गरिएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने, साइबर अपराध नियन्त्रणमा सघाउन पुर्याउनुपर्ने शर्त मान्न टिकटक तयार भएपछि दर्ता भएको हो ।
यसअघि सामाजिक सदभाव बिगार्ने र अश्लिल सामग्रीलाई प्रशय दिएको भन्दै सरकारले केही महिना टिकटक बन्द गरे पनि राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएको जनाउँदै गत भदौ १९ मा टिकटकमाथिको प्रतिबन्ध हटेको थियो । त्यसपछि टिकटकले दर्ता प्रक्रिया सुरु गरेको थियो ।
टिकटकसँगै नेपालमा दर्ता हुने ठूला विदेशी प्रविधि कम्पनी तीन वटा भएका छन् । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको टिकटकले सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरुको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।
सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, थ्रेड्स जस्ता पश्चिमा देशहरुमा आधारित सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन भने पनि उनीहरु अटेर गर्दै आएका छन् । टिकटकले भने सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० का व्यवस्था र शर्त मान्न तयार भएको बताएको छ ।