गाजा (क्यूएनए) । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको आँंल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्णरूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताएका छन् ।
उनले गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औंल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी क्षेत्र खाली उद्देश्यले प्यालेस्टिनीको आर्थिक स्रोतलाई जानाजानी लक्षित गरिरहेको बताए ।
उत्तरी गाजामा प्रवेश गर्न गत अक्टोबर–७ देखि संयुक्त राष्ट्रका एजेन्सीहरूले भोग्नुपरेको कष्टलाई उल्लेख गर्दै सुङ्गाईले गाजा पूर्ण रूपमा नष्ट भएको क्षेत्रमा परिणत भएको उल्लेख गरे ।
गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ४३ हजार ५०८ पुग्नुका साथै एक लाख दुई हजार ६८४ जना घाइते भएको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ ।
प्रतिवेदनका अनुसार हालसम्म मृत्युमध्ये झण्डै ७० प्रतिशत बालबालिका र महिलाहरू रहेका छन् । यसमध्ये करिब ८० प्रतिशतको मृत्यु आवासीय भवनमा भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए ।
संयुक्त राष्ट्र मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भने, ‘मेरो कार्यालयले आज मानिसहरूका लागि प्रकट भएको डरलाग्दो विवरणको प्रतिवेदन प्रकाशित गरिरहेको छ । अक्टोबर ७, सन २०२३ देखि जघन्य अपराधहरू हुने खतराबारे मैले बारम्बार चेतावनी दिएको छु । अन्तर्राष्ट्रिय कानूनले यी गम्भीर उल्लङ्घनको लागि न्याय दिनै पर्छ ।’
हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा ठूलो आतङ्कवादी आक्रमण गरेको थियो । उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएका र २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए । तिनीहरूमध्ये लगभग १०० जना भन्दा बढी अझै पनि बन्दक छन् ।
जवाफमा, इजरायलले गाजामा हमास एकाइहरूलाई निशाना बनाउँदै कडा जवाफी आक्रमण सुरु गर्यो । यद्यपि, इजरायली कारबाहीहरूले गाजामा ४५ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको जनाइएको छ ।