राष्ट्र बैंकले फेरि बजारबाट ५० अर्ब तरलता तान्दै, एक सातामा दुई खर्ब प्रशोचन

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले निरन्तर तरलता तानिरहेको छ । कात्तिक २१ गते एक खर्ब, कात्तिक २५ गते ५० अर्ब रुपियाँ तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले कात्तिक २८ गते (बुधबार) थप ५० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

Advertisement

पछिल्लो तथ्यांक अनुसार कात्तिक २३ गतेसम्म बैंकहरुले ६६ खर्ब ३५ अर्ब रुपियाँ निक्षेप संकलन गर्दैगर्दा सोही अवधिमा यता जम्मा ५२ खर्ब ७७ अर्ब रुपियाँ मात्र कर्जा लगानी गर्न सकेका छन् । 

समीक्षा अवधिमा ७८.२० प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ । तर कर्जाको माग नै नहुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको हो । 

सोही निरन्तरता स्वरुप केन्द्रीय बैंकले पछिल्लो पटक २१ दिनका लागि थप ५० अर्ब रुपियाँप्रशोचन गर्न लागेको हो ।

केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 
 

Advertisement

Advertisement