रेणु दाहाललाई गाली-गलौज गरेको आरोपमा देवी ज्ञवालीका छोरा निरव प्रहरी हिरासतमा

Advertisement

काठमाडौं: प्रहरीले बुधबार नेकपा एमालेको तर्फबाट भरतपुर महानगरका मेयर पदमा उठेका देवी ज्ञवालीका छोरा निरवलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ गरेको छ ।

उनलाई बुधबार पुतलीसडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता प्रधुम्न कार्कीले बताए ।

भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरवले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए ।

चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरेकाले उनलाई पक्राउ गरिएको कार्कीले बताए । उनले हिजो आफ्नो फेसबुक पेजमा "आफै मतपत्र च्यात्ने दोष अर्कालाई लाउने यो नकचरो काम हो। यो सडकमा लुगा खोलेर नाङ्गै हिडेजस्तो हो ," भनेर पोस्ट गरेका थिए ।

उनलाई हिरासतमा लिई अनुसन्धान भइरहेको र पुष्टि भए साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने कार्कीले बताए । तर उनका बाबुले छोराको त्यो स्टाटस हटाएको र पछि माफी मागेको पनि दावी गरे।

Advertisement

Advertisement

Advertisement