'मेरो इमान्दार श्रीमानको हत्या गरियो, त्यो पनि कलंकको टीका लगाएर'

Advertisement

ठेचो (ललितपुर): गएको बिहीबार राजधानीको ठेचोमा भएको एक युवकको रहस्यमय हत्यामा बलात्कार गर्न खोजेकोले प्रतिकारमा हत्या भएको भनिए पनि पैसाको लागि हत्या भएको परिवारजन र आफन्तहरुको दावी छ ।

प्रहरीले वास्तसिकतालाई लुकाउन खोजेको भन्दै उनीहरुले किटानी जाहेरी दिने तयारी गरेका छन् । पर्वतको फलेवास–४ घर भई हाल राजधानीको एक विमान सेवा कम्पनीमा काम गर्दै आएका मेघराज भुसालको छुरा हानी हत्या गरिएको थियो ।

ठेचोमा कृषि फार्म सञ्चालन गर्दै आएका भुसालको आफूले हत्या गरेको भन्दै उनकै फाममा काम गर्ने कान्छीमाया भनिने फुलमाया तामाङले आफूलाई बलात्कार गर्न खाजेकाले आफूले आत्मरक्षाका लागि भुसालको हत्या गरेको भन्दै प्रहरी कार्यालय भैसेपाटी पुगेकी थिइन ।

फुलमायाको दावीलाई भुसालको परिवार र आफन्तजन सही नभएको बताउँछन् । फुलमाया अहिले तेस्रो पतिसँग बस्दै आएकी र उमेरले पनि मेघराज भुसालभन्दा धेरै धेरै जेठी भएकाले मेघराजले उनको बलात्कार प्रयास गरेको भन्ने कुरामा सत्यता नरहेको बताउँछन् ।

भुसाललाई एक नजिकका जानकार भन्छन– उहाँ इमान्दार र सोझो मान्छे हो । बोली चाली हरेक व्यवहारबाटै पनि थाहा हुन्छ । बलात्कार गर्न खोज्यो भनेर हत्या गरेको भनेपछि सजाय कम हुन्छ भनेर कान्छीमायाले हत्याको जिम्मा लिएकी मात्रै हुन । दुई–तीन जना मिलेर हत्या भएको छ ।’

भुसालको हत्या गरिएको उनकै कृषि फार्ममा हो । त्यहाँ करिव १५ देखि २० लाख रुपियाँ मूल्य बराबरका पाँच दर्जन साना ठूला बंगुर, कुखुरा, हाँस, माछा पालन र भौतिक संरचना देखिन्छ । हत्या भएको ठाउँमा ओच्छ्यान भए पनि विस्तृत छानविन विना हतार हतार हटाइएको, परिवारजनको मन्जुरीविना लाश उठाएर अस्पताल ल्याउने र अन्त्यष्टि गर्ने काम भएको छ ।

परिवारका एक सदस्य भन्छन– कसरी प्रहरीले मुचुल्का गर्यो, कस्ले लाश बुझ्यो हामीलाई नै थाहा छैन । पतिको मृत्यु भएपछि श्रीमती बेहोस भएर पाटन अस्पतालमा भर्ना हुनुभयो । ज्वाईंको मृत्युको घटना सुनेर मुटुको विरामी रहेका ससुराको समेत मृत्यु भयो । आफ्नी श्रीमतीलाई १०ः०० बजे कार्यालय (नेपाल विद्युत प्राधिकरण) छोडेर फार्ममा पुगेका भुसालको दिउसो करिव ११ः३० बजे हत्या भएको थियो ।

भुसालको मृत्युसँगै श्रीमती विधवा भएकी छन् । १० महिनाको छोरा र ११ बर्षकी छोरी टुहुरा भएका छन् । आफ्नो पालन पोषण गर्ने छोरोको हत्याले आमा पनि शोकमा छिन । श्रीमती भन्छिन– मेरो इमान्दार श्रीमानको हत्या मात्रै भएन, कलंकको टीका लगाएर हत्या गरियो । प्रहरीले पनि सही अनुसन्धान गरेर यथार्थ सत्य बाहिर ल्याउने कुरामा उनको आशंका छ ।

भुसालका आफन्तजनका अनुसार बलात्कारको प्रयास गर्दा आत्मरक्षा गर्न खोजेको भए शरिरको विभिन्न भागमा चोटपटक लागेको हुन्थ्यो । करङको छेडिएर कलेजो र मुटुसम्म पुग्नेगरी छुरा प्रहार गरिएकाले बलात्कारको प्रयास नभई योजनावद्ध ढंगले गरिएको हत्या हो । अहिले हत्या गरिएको ठाउँमा कुनै निशान बाँकी राखिएको छैन ।

प्रहरीले हत्या गरिएको अवस्थाको तस्विरहरु पनि देखाउन नमानेको आफन्तजनको गुनासो छ । पार्टनर रहेकाले पनि कहिले पाटर्नर हो भन्ने कहिले होइन भन्ने गरेका छन् । प्रहरीबाट अनुसन्धान कमजोर बनाउन खोजेको आशंका भएपछि किटानी जाहेरी दिने तयारी भइरहेको उनीहरुले बताए ।

प्रहरीले पहिला कान्छिमायाको बलात्कार गर्न खोज्दा उनका श्रीमानले आएर भुसालको हत्या गरेको भन्ने गरे पछि पछि कान्छीमाया आफैले हत्या गरेको बताएको आफन्तजनको भनाई छ । प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार कान्छीमायाको प्रारम्भिक बयानमा उनैले हत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।

कान्छीमाया र उनका पतिलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर हिरासतमा राखेको छ । भुसालले कान्छीमायाका पतिसहित तीन जनासँगको साझेदारीमा कृषि फार्म सञ्चालन गरिरहेको थियो । बलात्कारको बहानामा साझेदारहरुबाटै भुसालको हत्या भएको आफन्तजन बताउँछन् ।

Advertisement

Advertisement

Advertisement