काठमाडौं । दलित नागरिक समाजले गत असार ३० गते काभ्रे पाँचखाल–६ का अजित मिजारको मृत्यु आत्महत्या नभई सुनियोजित हत्या गरिएको निश्कर्ष निकालेको छ ।
दलित नागरिक समाजले स्थलगत अध्ययन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा खुलासा गरेको हो । समाजका तर्फबाट संयोजक मोतीलाल नेपाली, समता फाउण्डेशनका प्रकात्र नेपाली, नेपाल राष्ट्रिय दलित समाज कल्याणका गीता अर्याल, सफता फाउण्डेशनका गोपाल नेपाली र दलित महिला संघकी मैया रोकायको नाममा प्रेस विज्ञप्ती जारी गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘स्थलगत भ्रमणका क्रममा भेटिएका आधारहरुबाट उक्त घट्नाको स्रोत अन्तरजातिय विवाह भएको कारण जातीय भेदभाव तथा छुवाछुतकै मानसिकताबाट अभिप्रेरित भएर योजनाबद्ध ढंगले हत्या गरेको देखिन्छ ।’
उनीहरुले घट्नालाई आत्माहत्याको वारदात जस्तो देखाउनलाई अन्य कतै हत्या गरेर लासलाई झुण्डाइएको पाइएको दाबी गरेका छन् । त्यस्तै उनीहरुले हत्यामा संलग्नहरुलाई तत्काल खोजी गरि हदैसम्मको कानुनी कारवाहीको माग गरेका छन् ।
उनीहरुले मृत्तकका परिवारलाई उचित क्षतिपूर्तिको लागि पहल गर्न एक्येबद्धता जनाउनका लागि राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत सम्पूर्ण मानवअधिकारका क्षेत्रमा कार्यरत गर्ने सबै सरोकारवालाहरु तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरु समेतलाई आह्वान गरेका छन् ।