काठमाडौंः अफ्रिकी देश जिम्बावेमा फागुन २० (मार्च १) देखि सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । उक्त विश्वकप छनोट प्रतियोगिताको ट्रफी आइतवार राती हरारेमा सार्वजनिक भएको हो ।
जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन । ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा नेपालसहित सहभागी १० टोलीका कप्तानहरुको समेत सहभागीता रहेको थियो ।
छनोटमा नेपालसहित जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड, वेष्ट इण्डिज, नेदरल्याण्डस, पपुवा न्युगिनी, आयरल्याण्ड, संयुक्त अरब इमिरेटस् (युएई) र हङकङले विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालरहेको समु्ह ‘बी’मा आयोजक जिम्बावे, अफगानिस्तान,स्कटल्याण्ड र हङकङ जस्ता बलिया टिम रहेका छन् । समुह ‘ए’ मा वेष्ट इण्डिज, युएई, नेदरल्याण्डस्, पपुवा न्युगिनी र आयरल्याण्ड रहेका छन् ।
नेपालले मार्च ४ मा आयोजक जिम्बावेसँग आफ्नो पहिलो खेल खेल्नेछ । मार्च ८ मा स्कटल्याण्डसँग, मार्च १० मा अफगानिस्तानसँग र मार्च १२ मा हङकङसँग खेल्नेछ । प्रतियोगिताको विजेता र उपविनेता अर्को वर्ष आयोजना हुने एकदिवसीय विश्वक क्रिकेट पप्रतियोगितामा छनोट हुनेछन् ।